बाराको काँटघाटमा ऐतिहासिक ‘काँटघाट साउने मेला’ शुरु

काठमाडौं-बाराको काँटघाट स्थित सहजनाथ महादेव मन्दिरमा प्रत्येक वर्ष साउन महिनामा लाग्ने ऐतिहासिक ‘काँटघाट साउने मेला’ आजबाट शुरु भएको छ । साउन महिनाभर धार्मिक पर्यटकको घुँइचो लाग्ने काँटघाटमा आजबाट भक्तजनहरुको उपस्थिती बाक्लिएको छ ।

मध्य जङगलभित्र रहेको सहजनाथ महादेवलाई स्थानीय बासिन्दाहरू जङगली बाबा महादेवको नामले पनि पुकार्ने गर्छन् । सत्ययुगमा भगवान् महादेव वन विहार गर्न चारकोसे झाडीको उक्त स्थानमा आई कैयौँ दिनसम्म सहजरूपमा वन विहार गरी विश्राम गरेकाले सो स्थललाई सहजनाथ महादेवको नामले पुजिंदै आएको किंबदन्ती छ ।

एक महिना पहिलेदेखि शुद्ध शाकाहारी भई करिब ३७ किलोमिटर टाढा रहेको रौतहट र र्सलाहीको सिमाना भएर बग्ने बागमती नदीबाट पैदलै हिंडेर, पहेंलो शिववस्त्र धारण गरी बोल बम भन्दै भजन(कीर्तन गाउंदै र डाक बमले कहीं विश्राम नगरी पवित्र जल ल्याई चढाउने गर्दछन् । यसरी पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने दर्शनार्थीहरूको आस्था, विश्वास छ ।
घना जंगलको मध्येभागमा अवस्थित उक्त मन्दिर परिसरमा श्री गणेश, बसाहा, रामसीता, राधाकृष्ण, भैरवनाथ, हनुमानलगायत अनेकौं देवी(देवताहरूको प्राचीन मूर्तिहरू र मन्दिर परिसरमैं करिब एक बिघा क्षेत्रफल ओगटेको पोखरीसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस