बिहार जोगाउन सप्तरी डुबाउने भारतीयको चाल

राजविराज– असार २८ गते राति सप्तकोसी नदीको बाढी सप्तरीतर्फको गाउँ पस्यो। हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका अधिकांश गाउँ डुबे। अँध्यारो छँदै बाढी गाउँ पसेकाले स्थानीयको चिहिलबिहिल भयो।

क्षतिको विवरण आइसकेको छैन। तर, बाढीले घर डुबाएपछि गोबरगाढासहित हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं १२ र १३ का ५ सय परिवार प्रभावित भए। २५० परिवार अहिले पनि कोसी पश्चिमी तटबन्धमा आश्रय लिएर बसेका छन्।

त्रिपालभित्र मुरही (भुजा) र च्युरा फुक्याउँदै गरेका बालबच्चा, वृद्धवृद्धा र बिरामीको अवस्था टिठलाग्दो छ। छोराछोरी जोगाउँदा–जोगाउँदै सामान निकाल्न नपाएकाले साता दिनदेखि पेटभरि खान पनि नपाएको खैरुल खातुनले गुनासो गरिन्।

‘घरमा ११ र १२ वर्षका केटाकेटी मात्रै छन्, उनीहरुलाई बचाउन सबैथोक छोडेर भागेँ,’ उनले भनिन्, ‘अहिले सोधखोज गर्ने पनि कोही छैन।’ उनका श्रीमान् मोहम्मद खलिल मन्सुरी वैदेशिक रोजगारीका साउदी अरबमा छन्।

खैरुलसहित त्रिपाल टाँगेर कोसी पश्चिमी तटबन्धमा बसेका पीडित परिवार अहिले पनि घर फर्किन सकेका छैनन्। उनीहरुको अवस्था पनि खैरुलको भन्दा धेरै फरक छैन। अधिकांश बाढीपीडिलाई खाने, बस्ने र सुत्ने समस्या छ।

हरेक दिन जोखिम
पूर्वी तटबन्ध जोगाउन भारतले कोसी ब्यारेज (पुल) भन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काएपछि घर फर्किने हिम्मत नभएको हनुमाननगर कंकालिनी नगरपालिका–१२, बाँध टोलका ५६ वर्षीय मोहम्मद अलाउद्दिन मन्सुरीले बताए। ‘सामान्य अवस्थामै गाउँ डुब्न थाल्यो,’ उनले भने, ‘वर्षा सकिएको छैन, पहाडी क्षेत्रमा ठूलो वर्षा भयो भने फेरि कोसी उर्लिने खतरा छ।’ नदीमा ३ लाख क्युसेक पानी बग्दा पनि सुरक्षित रहेको गाउँ च्यानलकै कारण खतरामा परेको उनको भनाइ छ।

गत वर्ष भदौ १२ गते राति सप्तकोसी नदीको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको ५ र तिलाठी कोइलाडी गाउँपालिकाका २ वटा वडा डुबायो। करिब ५ सय परिवार प्रभावित भए भने १ सय परिवार विस्थापित भए। गत जेठ १० गते पनि कोसीले बितण्डा मच्चायो। साँझपख च्यानलमा एक्कासि पानी छोड्दा नेपालतर्फको हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोबरगाढाका १ सय २० परिवार घरभित्रै थुनिए। उनीहरुलाई नेपालतर्फको भूभागमा आवतजावत गर्न समस्या भयो। कोसीको भँगालो तरेर जानुपर्ने गोबरगाढामा दुई–तीन दिनसम्म सहज आवतजावत समेत नभएको स्थानीयहरु बताउँछन्।

पटकपटक घर डुब्दै आएकाले वर्षा छँदै पुनः घर फर्कने कसैले हिम्मत गर्न नसकेको मन्सुरी वताउँछन्।

किन बढ्दैछ बर्सेनि खतरा?
सन् १९५४ को कोसी सम्झौता अनुसार सन् १९६४ मा कोसी ब्यारेजको निर्माण पूरा भएको थियो। २५ अप्रिल १९५४ मा भएको थियो सम्झौतामा नेपाल सरकारको तर्फबाट योजना, विकास तथा भूमिसुधार मन्त्री महावीर शमशेर र भारतको तर्फबाट योजनामन्त्री गुलजारीलाल नन्दाले हस्ताक्षर गरेका थिए।

५५ वर्ष पुरानो यो ब्यारेजले निर्माणताका ९ लाख ५० हजार क्युसेक पानी थेग्ने क्षमता थियो। तर, अहिले बालुवाले नदीको ‘बेस’ उकासेकाले ब्यारेज र बाँधको क्षमतामा ह्रास आएको छ।

ब्यारेजको क्षमता ६ लाख क्युसेक प्रतिसेकेन्ड पानीको बहाब थेग्न सक्ने अनुमान छ। तर, विश्वकै उच्च बालुवा बोक्ने नदीमा पर्ने कोसीमा अहिले १ लाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछि खतराको संकेत देखाइन्छ। पुलको दुवैतर्फ रातो झन्डा र रातो बत्ती बालेर खतराको संकेत गर्ने गरिएको छ।

ब्यारेजका पर्याप्त ढोका नखोलिँदा कोसी ब्यारेजको बाँध भत्किने अनुमान छ।

२०६५ भदौ २ गते कोसी तटबन्ध भत्किँदा ब्यारेजमा पानीको बहाव १ लाख ६८ हजार क्युसेक मात्र थियो। तर, यस वर्ष असार २८ गते मध्यरात पानीको बहाव ३ लाख ७९ हजार क्युसेकसम्म पुग्यो। यस वर्षको बाढीलाई तुलना गर्दा पनि त्यसताका पर्याप्त ढोका नखोलिएकै कारण पूर्वी तटबन्ध भत्किएको अनुमान गरिन्छ।

बाढीले पूर्वी तटबन्ध भत्काउँदा नेपालतर्फ सुनसरी हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाविस डुब्दा ३० हजार बढी घरपरिवार विस्थापित भएका थिए। पछिल्लो समय भारतले निर्माण गरेको पाइलट च्यानका कारण पनि सप्तरीतर्फ खतरा अझै बढेको स्थानीयहरु बताउँछन्।

पाइलट च्यानल : बिहार जोगाउन सप्तरी डुबाउने भारतीय चाल
कोसीलाई ‘बिहारको दु:ख’का नामले पनि चिनिन्छ। ०६५ भदौमा पूर्वी तटबन्ध भत्किँदा नेपालसहित भारतमा पनि निकै जनधनको क्षति भयो। धेरै भारतीयले दुःख पाए। कोसीका कारण अहिले पनि भारत बिहारका अररिया, सहर्सा, सुपौल, पूर्णिया लगायतका क्षेत्र डुबानको खतरामा छन्।

यही जोखिम कम गर्न पूर्वी किनार भएर बग्ने कोसीको धार परिवर्तनका लागि भारत सरकारले नदीको बीचमा पाइलट च्यानल निर्माण गरेको छ। ०६७ सालको सुरुवातदेखि नै सुरु भएको च्यानल निर्माणको काम हरेक वर्ष जारी छ। च्यानलकै लागि भारतको बिहार सरकारले बर्सेनि १ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गर्ने गरेको जानकारहरु बताउँछन्।

ब्यारेजको २८ नम्बर ढोकादेखि सुरु गरिएको च्यानल ८ किलोमिटर लम्बाइ, ३० मिटर चौडाइ र १० मिटर गहिराइको छ। पाइलट च्यानल निर्माणको बारेमा भारत सरकारले नेपालतर्फ जानकारी समेत नदिएको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर साह बताउँछन्। अन्तर्राष्ट्रिय कानुन अनुसार निर्माण लगायतका गतिविधि नै गर्न नमिल्ने क्षेत्रमा भारतले जबरजस्ती च्यानल बनाएको उनको आरोप छ।

सम्झौता अनुसार निर्माण कार्य गर्दा पनि दुई पक्षीय सहमति आवश्यक छ। ‘युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ नननेभिगेसनल युज अफ इन्टरनेनसलन वाटर कोर्सेस’ अनुसार अन्तर्राष्ट्रिय नदीमा आफ्नो सीमावर्ती क्षेत्र उपयोग गर्ने राष्ट्रले अर्को छिमेकी राष्ट्रलाई नोक्सानी नहुने गरी मात्रै संरचना बनाउनुपर्ने उल्लेख छ। यसैगरी, ‘इन्टरनेसनल बाउन्ड्री वाटर्स ट्रिटी एक्ट १९९०’ को धारा ४ मा सिमानाको अर्कोतर्फ पानीको सतह बढ्ने गरी छिमेकी देशले संरचना बनाउन नहुने उल्लेख छ। तर अहिले ब्यारेजभित्रै च्यानल बनाएर खोलो फर्काउँदा समेत नेपालतर्फ जानकारी नगराइएको जानकारहरु बताउँछन्।

भारतले विना जानकारी च्यानल निर्माण गरेको विषयमा आफूले प्रमुख जिल्ला अधिकारी, सिँचाइमन्त्री, गृहमन्त्री र प्रधानमन्त्री कार्यालयसम्मलाई पत्राचार गरे पनि सुनुवाइ नभएको मेयर साहले बताए। सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले भने आफूले सो विषयमा बुझ्दा दुई देशको संयुक्त संयन्त्र र प्राविधिक समितिको सहमति अनुसार नै च्यानल निर्माण भएको जानकारी पाएकाले थप पहल गर्न नसकिएको बताउँदै आएका छन्।

सम्झौता अनुसार बाँधको मर्मत/सम्भार नगर्ने र नदीको धार परिवर्तन गरी खोलो फर्काइदिने भारतीय व्यवहारका कारण नेपाली क्षेत्र दिनदिनै खतरामा पर्दै गएको छ। च्यानलले भारतीय क्षेत्रमा जोखिम कम भए पनि सप्तरीतर्फ त्रास बढाएको र बाँध फुटे २ लाखभन्दा बढी जनसंख्या प्रभावित हुने मेयर साहको अनुमान छ।

कोसी सम्झौता कार्यान्वयनमा भारतको नियत नै खराब
कोसी सम्झौता अनुसार ब्यारेज र तटबन्धको सुरक्षा नेपाल सरकारले गरे पनि संरचनाको मर्मत तथा सम्भार भारतीय पक्षले गर्ने उल्लेख छ। ब्यारेजमा कोसी नियन्त्रण कक्ष स्थापना गरेको बिहार सरकारले जल संशाधन मन्त्रालय अन्तर्गत पटना र वीरपुरस्थित पश्चिमी कोसी परियोजना कार्यालयमार्फत सम्पूर्ण निर्देशन र व्यवस्थापन गर्ने गरेको छ।

उक्त कार्यालयले सामान्य अवस्थामा पनि ब्यारेजका पश्चिमतर्फका ढोका खोल्ने गरेको सप्तरीका स्थानीय बुद्धिजीवीहरु बताउँछन्। ब्यारेजमा सुनसरीपट्टिबाट १ मानेर ५६ वटा ढोका छन्। बाढी आउँदा नियन्त्रण कक्षले धार तयार गर्न पहिला सप्तरीतर्फका ५६ देखि २९ नम्बरसम्मका ढोका खोल्ने र आवश्यकता बढ्दै गए मात्र पूर्व (सुनसरी) तर्फका ढोका खोल्ने गरेको उनीहरुको आरोप छ।

२८ नम्बर ढोका सप्तरी र सुनसरीको सिमाना हो।

बाढी आउँदा सप्तरीतर्फको कोसी पश्चिमी नहरमा ६ हजार क्युसेक पानी छोडिन्छ भने भारततर्फको पूर्वी नहरमा पानी बन्द गरिन्छ। खेतीको मौसममा पूर्वी नहरमा पानी छोड्ने र पश्चिमी नहरमा कमै मात्र पानी दिने भारतीय पक्षको पुरानै चलन रहेको पनि स्थानीयहरु बताउँछन्।

कहाँकहाँ छ खतरा?
भारतले २० वर्षदेखि कोसीको तटबन्धसमेत मर्मत गरेको छैन। पाइलट च्यानलकै कारण असार २८ गते कोसीमा आएको बाढीले ब्यारेजदेखि कुनौलीसम्मको १८ किलोमिटर पूर्वी तटबन्धको आधा दर्जन ठाउँका बाँधमा क्षति पुग्यो। बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह, डलवा र योगीनियाँमा बाँध कटान गरेको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदह निवासी कोसीबारे जानकार सञ्चारकर्मी रामनारायण विश्वासले बताए।

बाढीको वेग कम गर्न बनाइएका २०-२५ वटा स्परसमेत जीर्ण भएका छन्। असार २८ गतेको बाढीले ६ (२९) र ६ (८०) नम्बरको स्परमा ठूलो क्षति गरेको छ। बाढीले करिब ८० मिटर स्पर कटान गरेको हनुमाननगर कंकालिनीका मेयर साहले जानकारी दिए। भत्किएको स्पर मर्मतका नाममा भारतले बोरामा बालुवा हालेर थुनछेक गरिरहेको स्थानीय बताउँछन्।

बाढीको खतरा अझै पनि बाँकी रहेकाले पानी ओभरफ्लो भई बाँध फुटेमा सप्तरीतर्फ ठूलो क्षति हुन सक्ने सञ्चारकर्मी विश्वासले बताए। उनका अनुसार भारदहतर्फबाट बाँधमा क्षति भए भारदह, जोगिनिया, हनुमाननगर, इनरुवा, रम्पुरा मल्हनिया, सकरपुरा, गोबरगाढा, तिलाठी, लौनिया लगायतका एक दर्जनभन्दा बढी गाउँ जोखिममा पर्नेछन्।

प्रतिक्रिया दिनुहोस