मिथिलाञ्चलमा मधुश्रावणी पर्व सुरु

काठमाडौं-मिथिलाको सामाजिक सांस्कृतिक परम्परामा आधारित मधुश्रावणी पर्व विधिवतरुपमा मिथिलाञ्चलमा सुरु भएको छ। मिथिलामा यस पर्वको सुरुवातसँगै मधुमास सुरु भएको मानिन्छ। सोमबार पञ्चमी तिथीमा नाग नागिन, शिवपार्वतीको विशेष पूजा गरी नवविवाहित जोडीले मधुमास सुरु गरेका छन्।

१३ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन नवविवाहित महिलाले श्रीमानको घरबाट पठाइएको साडी, चोलो, चुरा र गरगहना लगाएर शिव, पार्वती तथा नाग नागिनको पूजा गर्ने गर्छिन्।
पर्व अवधि भरी प्रत्येक साँझ नवविवाहित महिला समूह बनाएर साजश्रृंगार गरी बगैंचामा फुललोढी (फुलटिप्ने) गर्न जाने गर्छन्। समूहमा सजिएर निस्कने महिलाको झुण्डले मधुमास सुरु भएको सबैले थाहा पाउँछन्। साँझ टिपिएका फूलहरु अर्को दिनको पूजामा चढाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस