त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले जग्गा प्रकरणमा आफ्नो नाम अनावश्यक रूपमा मुछिएको बताए। ‘बालुवाटारको जग्गा भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयसँग जोडिएको विषय हो, म त्यतिबेला भौतिक आवासमन्त्री थिएँ’, उनले भने, ‘मैले मन्त्रिपरिषद्मा प्रस्ताव पेस मात्र गरेको हुँ। यो जग्गाको विषय मेरो मन्त्रालयसँग जोडिँदैन।
उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयानका लागि अहिलेसम्म कुनै सम्पर्क नराखेको उल्लेख गर्दै आवश्यक परे सघाउन तत्पर रहेको बताए। ‘कुनै पनि सरोकारवाला निकायले छानबिनका लागि मलाई बोलाए म सहयोग गर्छु’, उनले भने, ‘तर अहिलेसम्म कसैले पनि मलाई यसबारे बुझ्नसमेत सम्पर्क गरेको छैन। म छानबिनबाट भाग्दिनँ।’
विभिन्न सञ्चारमाध्यमले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। गच्छदार आँखाको उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका थिए। चिकित्सकले तीन महिनापछि शल्यक्रियाका लागि बोलाएको उनले बताए।