बालुवाटार जग्गा प्रकरणःभौतिक पूर्वाधारमन्त्री विजय गच्छदार सम्पर्कविहिन

काठमाडौं ,  प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले सबै जिम्मेबारसँग बयान लिइरहेको छ।

तर, दुबै निकायले खोजिरहेका तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदार सम्पर्कविहिन छन्।

दुवै निकायले बयानमा बोलाएपछि १५ असारमा भारत गएका उनी उतैबाट अमेरिका गए । भारत फर्किएपछि पनि नेपाल आउनुको सट्टा चेन्नईतिर लागेका छन्।

यस्ता बयानमा अख्तियारले फोनबाटै बोलाउने, फोनबाटै पछ्याउने र नआएमा पत्र काट्ने र पत्रिकाबाट सार्वजनिक सूचनासमेत प्रकाशित गर्ने गरेको छ।

गच्छदारले जानीजानी बयान टार्न खोजेको भन्दै अख्तियारले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । यसअघि तत्कालीन भौतिक पूर्वाधारसचिव तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले पनि बयान दिन अस्वीकार गर्दा अख्तियारले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी गरेको थियो ।

गत बिहीबारसम्म बयान दिन जान्न भनेका बस्न्यात शुक्रबार कार्यालय नखुल्दै अख्तियार पुगेका थिए । उनी बेलुका कार्यालय सकिएपछि मात्र फर्किएका थिए ।

बयानका लागि बोलाउन खोज्दा गच्छदार सम्पर्कमा आउन नचाहेपछि सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको अख्तियार स्रोतले जनाएको छ । अख्तियार स्रोतका अनुसार बयानका लागि बोलाउने तयारी गरेलगत्तै गच्छदारले नेपाल छाडेका छन्।

०६६ मा सरकारले बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने गरी निर्णय गर्दा उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले सम्हालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले टिप्पणी उठाएको थियो ।

भूमिसुधार मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषय गच्छदारको मन्त्रालयबाट टिप्पणी उठेकै आधारमा मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।

बालुवाटार जग्गा प्रकरणमा छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) समेत गच्छदारसँग बयान लिने तयारीमा छ । तर, उनी सम्पर्कमा आएका छैनन् ।

माधव नेपालसँग पनि बयानको तयारी
अख्तियारले बालुवाटारको जग्गासँग सम्बन्धित अनुसन्धानमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग समेत बयान लिने तयारी गरेको छ।

नेकपाका वरिष्ठ नेता नेपाललाई भने गोप्य रूपमा बयान लिने तयारी गरेको स्रोतको दाबी छ । ‘उहाँसँग पनि सोधिन्छ, तर बयान नभनी गोप्य रूपमा सोध्न सकिन्छ,’ अख्तियार स्रोतले भन्यो।

तत्कालीन सचिव दीप बस्न्यातद्वारा लेखिएको र मन्त्री गच्छदारद्वारा स्वीकृत फाइलमा ‘प्रधानमन्त्री माधव नेपालसँग भएको छलफलको निष्कर्षका आधारमा उहाँकै चेम्बरमा टिप्पणी लेखिएको’ उल्लेख छ

प्रतिक्रिया दिनुहोस