बर्दिया , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत तीन जना इन्जिनियर र एक सवारी चालकलाई पक्राउ गरेकाे छ । उनीहरूलाई शनिबार सेवाग्राहीसँग लिएको घुससहित पक्राउ गरेको हाे ।
इन्जिनियरहरु कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरिप्रसाद चौधरी र चालक टंक प्रसाद ओझालाई आयोगको टोलीले पक्राउ गरेको हो । घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।
निर्माण योजनामा तारजाली भर्ने कामको बिल भुक्तानी गरे वापत घुस लिएको १५ लाख नगदसहित पक्राउ गरेको आयोगले जनाएको छ । बर्दियाको गरुवा गाउँपालका-१ बाट पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको आयोगका अधिकृत नारायणदत्त उपाध्यायले जानकारी दिए ।