रोकियो अन्तर्राष्ट्रिय विमानस्थलको काम

बैशाख २९, काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोकिएको छ।

विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले समयमा नै पैसा भुक्तानी नपाएको भन्दै आइतबारदेखि निर्माणको काम रोकेको छ।

ठेकेदार कम्पनीले बिल अनुसारको रकम भुक्तानी नभएसम्म काम नगर्ने भन्दै निर्माण कार्य रोकेको आयोजना कार्यालयले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राष्ट्रिय गौरवको आयोजना कार्यालयबाट करिब २० करोड रुपैयाँ भुक्तानीका लागि बिल बुझाए पनि रकम भुक्तानीमा ढिलाई भएको छ।

आयोजनाले पठाएको बिल तीन सातादेखि मन्त्रालयमा नै रोकिएको आयोजना कार्यालयले जनाएको छ। कार्यालयका उच्च कर्मचारीका अनुसार मन्त्रालयको बेवास्ताका कारण अन्तिम समयमा आएर निर्माण काम रोकिएको हो।

यता मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार मन्त्रालयमा आयोजनाले पठाएका फाइल अर्थमा पठाईएको छ। बिल अनुसारको रकम छिटै भुक्तानी हुने उनले बताए।

आयोजनाले पठाएको बिल मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) मा पठाउनुपर्दछ।

आयोजना कार्यालयका एक उच्च अधिकारीका अनुसार एडीबी आफैँले रकम भुक्तानी गर्दा समस्या भएको थिएन। एडीबी पछि हटेर मन्त्रालयमार्फत भुक्तानी हुने प्रावधान भएपछि समस्या उत्पन्न भएको हो। ती अधिकारीका अनुसार सिधैं एडीबीबाट भुक्तानी हुँदा ६ महिनामा २३ प्रतिशत काम सम्पन्न भएको थियो। ६ महिनामा २७ प्रतिशतमा रहेको ५० प्रतिशतमा पुगेको आयोजनाको दावी छ।

५० प्रतिशतदेखि हालसम्म मन्त्रालयमार्फत भुक्तानी हुने प्रावधानपछि तोकिएको समयमा विमानस्थल निर्माण सम्पन्न गर्न गाह्रो भएको ती अधिकारीले जनाए।

सन् २०१५ जनवरी १५ मा शिलान्यास हुँदा विमानस्थल निर्माणको काम २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य लिइएको थियो। स्थानीय साझेदार र चिनियाँ ठेकेदारबीचको विवाद र भारतीय नाकाबन्दीका कारण ढिला भएको भन्दै ६ महिना म्याद थप गरेको थियो।

विमानस्थल निर्माणमा विशेषज्ञता हाँसिल गरेको चिनयाँ ठेकेदार कम्पनी नर्थवेस्टले ठेक्का सम्झौता अनुसार ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँमा काम गर्दै आएको छ।

यसमध्ये ४०.५ प्रतिशत एशियाली विकास बैंकको ऋण र १८ प्रतिशत अनुदान लगानी छ। ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत रकममा विमानस्थल निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस