आयो नेपालमा पाइपलाइनबाट तेल

काठमाडौं । नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमा पहिलो पटक पठाइएको डिजेल अमलेखगन्जमा खसाइएको छ । शुक्रबार बिहान ९ बजे अमलेखगन्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले जानकारी दिए ।

बुधबार भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनमा परीक्षणका लागि सो डिजेल पठाइएको थियो । इन्जिनियर पौडेलका आनुसार आजै बिहान ७ बजे मोतीहारीबाट पठाइएको ६ हजार लिटर पानी अमलेखगन्जमा आईपुगेको थियो । पाइपलाइनबाट पानी खसिसकेपछि अहिले डिपोमा रहेको चार वटा ट्याङ्कीमा एक हजार लिटर डिजेल भरिदै गरिएको पौडेलले बताए ।

‘एक हजार लिटर डिजेल ट्याङ्कीमा खसिसके पछि अहिलेलाई पाइप बन्द गरिन्छ,’ उनले भने, ‘पाइपलाइनको औपचारीक उद्घाटनपछि मात्रै व्यवसायिकरुपमा तेल आउन सुरु हुन्छ ।’

पाइपलाइनको उद्घाटन कहिले गर्ने भन्ने तय भएको छैन । उद्घाटन नभएसम्मका लागि पाइपमा तेल भरीराख्न थप २१ हजार लिटर तेल पठाइने अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । पहिलो चरणमा आइपुग्ने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि यतिबेला अमलेखगन्जमा छ ।

नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल-भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सम्झौताको एक दशकसम्म बिबिध कारण सुरु हुन नसकेको उक्त परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो ।

तत्काल पाइपलाइन निर्माणका लागि तत्कालीन आपूर्तिमन्त्री सुनील थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच काठमाडौंमा सम्झौता भएको थियो ।

सम्झौताको दुई वर्षपछि २०७४ पुसबाट भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाईन निर्माण थाल्यो । निर्माण सुरु भएको अठार महिनापछि गत असारमा पाइपलाइन निर्माणको कार्य सकिएको हो ।

पूर्वनिर्धारित समयभन्दा १५ महिना अगावै पाइपलाइन निर्माण सम्पन्न भएको छ । कुल ६९.२ किलोमिटर लामो पाइपलाईनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । उक्त पाइपलाइनमा ३६ लाख लिटर तेल मौज्दात रहन सक्छ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने अमलेखगन्ज डिपो प्रमुख यादव बताउँछन् ।

अमलेखगन्ज डिपोमा पेट्रोल राख्नका लागि ‘भर्टिकल’ नबनेका कारण तत्कालका लागि पाइपलाइनबाट डिजल मात्रै आयात गरिने आयल निगमले जनाएको छ ।

भारतको बरौनी डिपोबाट गुणस्तर प्रमाणित भएर पाइपमार्फत आएको तेलको अमलेखगन्जमा पुनः गुणस्तर परीक्षण गरेर मात्रै निगमले वितरण गर्ने यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस