बुटवल , प्रदेश ५ सरकारले आव ०७५/७६ मा ६३ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । चालूतर्फ ७० प्रतिशत र पुँजीगततर्फ ५९ प्रतिशत खर्चको अवस्था रहेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार चालूतर्फ ६ अर्ब ८७ करोड ७१ लाख र पुँजीगततर्फ १० अर्ब २७ करोड १३ लाख गरी १७ अर्ब १४ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।
धेरै खर्च गर्नेमा प्रदेश सभा
खर्च धेरै गर्नेमा प्रदेश सभा रहेको छ । प्रदेश व्यवस्थापिकाले ३१ करोड ६६ लाख बजेटमा २५ करोड ५८ लाख खर्च गरेको छ । जुन बजेटको ८१ प्रतिशत हो ।
असार महिनामा मात्रै ८ अर्ब भुक्तानी
असार महिनामा मात्र ७ अर्ब ८९ करोड रकम प्रदेश सरकारले भुक्तानी गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी रवीन्द्र अर्यालले जानकारी दिए । यो रकम बजेटको ४६ प्रतिशतभन्दा पनि बढी हो । सूचना अधिकारी अर्यालले जेठ मसान्तसम्म ९ अर्ब २५ करोड खर्च भएको बताए । विकास निर्माणका कामको भुक्तानी प्रायः अन्तिममा हुने भएकाले असारमा बढी रकम भुक्तानी भएको मन्त्रालयका अधिकारीहरू भने दाबी गर्छन् । तर, प्रदेश ५ मा असारे विकासको विकृतिका रूपमा गोष्ठी र सेमीनारका नाममा पनि ठूलो रकम खर्च भएको भन्दै सत्तापक्षकै सांसदहरूले चर्को विरोध गर्दै आएका छन् ।
मन्त्रालयगत खर्च विवरणमा सबैभन्दा कम खर्च गर्नेमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय परेको छ । यसले जम्मा ५१ प्रतिशत बजेट अर्थात् ३ अर्ब ३४ करोड ६३ लाख बजेटमा १ अर्ब ७१ करोड ३६ लाख मात्र खर्च गरेको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले ५२ प्रतिशत खर्च गरेको छ ।