दूषित पानी भएकाले पानीमा सचेतता अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव

काठमाडाैं,  हिजोआज वर्षायाममा पानीका मुहान दुषित हुने र पानीका मुहानहरुमा फोहोर पस्ने भएकाले उमालेर मात्र पानी पिउन चिकित्सकहरुले सुझाव दिएका छन् । विशेष गरी बर्खाका बेला झाडापखाला, आउँ जस्ता रोग देखिने र त्यसको मुख्य कारण दुषित पानी नै भएकाले सफा पानी उमालेर मात्र पिउनुपर्ने हुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन सिधै मुहानबाट ल्याइएको मात्र नभई किनेर ल्याइएको जारको पानी पनि उमालेर मात्र प्रयोग गर्नुपर्ने बताउछन् । अस्पतालमा आउने बिरामीहरुलाई हेर्दा हैजा र झाडापखालाका बिरामीको सङ्ख्या बढ्नुको मुख्य कारण दूषित पानी भएकाले पानीमा सचेतता अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । काठमाडौंको टेकु अस्पतालका अनुसार काठमाडौंमै झाडापखाला, टाइफाइड, हैजा तथा बान्ता हुने, रुघाखोकीले आउने बिरामी बढेका छन् । उपत्यकामा हैजाको जोखिम सधैँ रहेकोले हैजा, झाडापखालासँगै हेपाटाइटिस ए, टाइफाइडजस्ता सरुवा रोगको पनि यो समयमा बढी खतरा हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस