काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष कमल थापाले सनातन धर्म, संस्कृति र सभ्यता माथि योजनाबद्ध आक्रमण भइरहेकोले सम्पूर्ण ओमकार परिवारलाई सचेत रहन जोड दिएका छन् ।
गुरु पूर्णिमाको अवसरमा सिद्धाश्रम शक्ति केन्द्रद्वारा आज राजधानीमा आयोजित एक समारोहमा बोल्दै अध्यक्ष थापाले सनातन धर्म, संस्कृति र सभ्यताको रक्षा गर्नुपर्ने कर्तव्य वर्तमान पुस्ताको भएको बताएका हुन् ।
थापाले नेपाली नेपाली बीचको आन्तरिक एकतामा खलल पुर्याएर सनातन धर्म माथि प्रहार गर्ने योजना अन्तर्गत धर्म निरपेक्षता लादिएको बताएका छन ।
धर्म निरपेक्षताको आडमा संगठित रुपले धर्म परिवर्तन भइरहेको र धर्म परिवर्तनको गतिलाई समयमै नरोक्ने र यसले निरन्तरता पाउने हो भने नेपाल डरलाग्दो धार्मिक द्वन्द्वमा फस्न सक्ने पनि अध्यक्ष थापाले बताएका छन् ।
अध्यक्ष थापाले आध्यात्मिक चेतनाको अभिबृद्दिले समाजलाई सहि दिशा तर्फ लैजान मद्दत गर्ने बताए । कार्यक्रममा थापाले एसईई परिक्षामा उत्कृष्ट नम्बर प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।
समारोहमा राप्रपा उपाध्यक्ष तथा पुर्ब मन्त्री बुद्धिमान तामाङ ,अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाल, जयकुमार खड्का लगायतको उपस्थिति थियो ।