काठमाडौं । जनता टेलिभिजन आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । जनताद्वारा जनताका लागि भन्ने नाराका साथ २०७४ साल असार २९ गते प्रसारण थालेको जनता टेलिभिजन २ वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको हो ।
जनता टेलिभिजन सर्वसाधारण र विभिन्न क्षेत्रका व्यक्तिको लगानीमा सञ्चालित नेपाली सञ्चार जगतमा पहिलो सामुदायिक च्यानल हो । जनता प्रकाशन तथा प्रसारण लिमिटेड अन्तरगत सञ्चालित जनता टेलिभिजन समाचार र मनोरञ्जन मिश्रित च्यानल हो ।
यस अवसरमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष अध्यक्ष डा. विजयकुमार पौडेलले समस्त दर्शक, पाठक तथा विज्ञापन दातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले जनता टेलिभिजन दर्शक तथा शुभेच्छुकबाट पाएको माया र सुझावको आधारमा अगाडि बढ्ने बताउनु भएको छ ।
अध्यक्ष पौडेलले सत्य–तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा जनता टेलिभिजन, रेडियो जनता र जनता समाचार डटकमलाई अझै प्रखर बनाइने बताउनु भएको छ । ‘जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा संचालित ३ वटै सञ्चार माध्यम राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति प्रतिवद्ध रहने छ’ उहाँले भन्नुभएको छ, ‘जनता टेलिभिजनलाई व्यावसायिक रुपमा अझै बलियो बनाउने क्रमसँगै हामी आफ्नो सामाजिक उत्तरदायित्व पनि बिर्सने छैनौँ। आफ्नो घेरा र स्तर बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दछौँ ।’
काठमाडौंको मीनभवनमा मुख्यालय रहेको जनता प्रसारण तथा प्रकाशन लिमिटेडले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरिसकेको छ । जनता टेलिभिजन र रेडियो जनता र जनता समाचार डटकम आगामी दिनमा सत्य तथ्य र निश्पक्ष पत्रकारिताको क्षेत्रमा तपाईहरूसँगै हुनेछ ।