घुससहित पक्राउ परेका सांसद डोलबहादुर कार्कीलाई सर्वोच्च अदालतले दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन एमालेका पूर्व सांसद डोलबहादुर कार्कीलाई घुसकाण्डमा दोषी ठहर गरेको छ। रंगेहात घुससहित पक्राउ परेका उनलाई सर्वोच्चले मंगलबार दोषी ठहर गरेको हो। न्यायाधीशद्धय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले उनलाई दोषी ठहर गरेको हो।

सर्वाेच्चले घुसकाण्डमा पहिलो संविधानसभामा एमाले सांसद रहेका कार्कीसहित स्वामी ब्रह्मानन्द उदासीनलाई पनि दोषी ठहर गरेको छ। उनीहरूले ४ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो। सोमध्यै स्वामीको निवासबाट १ लाख रुपैयाँ बरामद भएको थियो। सो १ लाख रुपैयाँ असुल उपर गर्न समेत सर्वोच्चले आदेश जारी गरेको हो।

एमाले सांसद रहेका कार्कीले स्वामीसँग मिलेर प्रहरी इन्स्पेक्टर बनाइदिन्छु भन्दै घुस लिइरहेका बेला रंगेहात पक्राउ परेका थिए।  स्याङ्जाका उनलाई एमालेले घुससहित पक्राउ गरेपनि निलम्बन गरेको थियो। विशेष अदालतले उनलाई २०६७ चैतमा दोषी ठहर गर्दै ६ महिना कैदको फैसला सुनाएको थियो।

त्यस विरुद्ध उनी २०६८ जेठ २४ गते सर्वोच्च आएका थिए। मंगलबार सर्वोच्चले फैसला सुनाउँदै विशेषको फैसला सदर गरेको हो।

प्रतिक्रिया दिनुहोस