नेपालको उद्योगधन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगहरु एकदम लहलहाउने स्थिति होइन : माधवकुमार नेपाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका कामकारबाही अलोकप्रिय बनिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

पूर्वसांसद मञ्च नेपालको १९औं साधरणसभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दे नेता नेपालले पूर्वाधारबिनाका योजना घोषणा, मनपरी नियुक्ति र अवकाश लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए। न्यूनतम पूर्वाधारबिना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या सिर्जना भएको उनको टिप्पणी थियो।

व्यवहारमा पुष्टि नहुने सिद्धान्त सही सिद्धान्त नहुने भन्दै उनले परिवर्तनको आवश्यकता औंल्याए। नेतृत्वले सधैं विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिनुपर्ने र आलोचना/टिप्पणीप्रति सकारात्मक हुन सक्नुपर्ने नेता नेपालले बताए।

‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ। सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ। व्यवहारले सही साबित गर्‍यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्छ,’ उनले भने, ‘व्यवहारले ठिक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिमार्जित गर्नुपर्ने आवश्यकता पर्छ।’

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्दर्भमा उनले आफ्नो मुलुकका लागि हुने लाभ हानिको विश्लेषण गरी निर्णय गर्नुपर्ने धारणा राखे।

‘आफ्नो देशको साधन संयन्त्रलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ। राष्ट्रिय पुँजी मासिएर विदेशी पुँजी फस्टाउने। नेपालीहरुले दु:ख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन,’ उनले भने, ‘ नेपालको उद्योगधन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगहरु एकदम लहलहाउने स्थिति होइन।’

प्रतिक्रिया दिनुहोस