नयाँ बसपार्कको करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण

 

काठमाडौँ,  गोँगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ ।

उपत्यका भित्रिनेरबाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् । यातायात विभागका महानिर्देशक कुमार दाहालले बसपार्कमा प्रयोजनअनुसार काम नभएको बताए ।

‘उद्देश्य एउटा, प्रयोजन अर्कै भएको छ, बस पार्किङ गर्ने स्थान छैन,’ उनले भने, ‘करिब ७० रोपनी जग्गामा मात्र पार्किङ बनाएको छ । बसपार्क अतिक्रमण भएको छ ।’जापान सरकारको सहयोगमा २०४९ मा नयाँ बसपार्क निर्माण गरिएको थियो । सरकारले काठमाडौं महानगरपालिकालाई सञ्चालन र व्यवस्थापनको जिम्मा लगाएको थियो ।

‘अहिले पार्किङका लागि ठाउँ छैन भनेर हल्ला हुँदै छ तर पार्किङका लागि दिएको जग्गामा अरू नै भवन निर्माण गरिएका छन्,’ महानिर्देशक दाहालले भने, ‘अत्याधुनिक र प्रविधियुक्त बसपार्क बनाउनुको साटो विकृत बनाइयो ।’

महानगरपालिकाले लोत्से बहुउद्देश्यीय प्रालिलाई ४५ वर्षका लागि जिम्मा दिएपछि त्यहाँ अतिक्रमण बढेको दाहालको भनाइ छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस