काठमाडौं । असार १५ गते आज, देशभर १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ मा रोपाइ जात्रा, हिलो खेल्ने, दही चिउरा खाई मनाउने गरिन्छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान रोप्ने गरिन्छ । २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले २०६२ साल असार १५ गते देखि राष्ट्रिय धान दिवस मनाउन थालेको हो।
यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका–८, बर्दियामा आयोजना हुँदैछ । कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का महानिर्देशक टेकबहादुर गुरुङ, सांसद लगायतको टोली बर्दिया पुगिसकेको छ ।
सरकारको आगामी आर्थिक वर्षमा ७० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य लिएको छ । यस वर्षको मौसम र रासायनिक मल अभावका कारण लक्ष्य भेट्न मुस्किल हुने धान विज्ञको भनाई छ ।
मन्त्रालयका अनुसार १० असारसम्ममा उच्च पहाडमा २६ दशमलव ३१ प्रतिशत धान रोपाइँ भएको छ । त्यस्तै, तराईमा ९ दशमलव ५९ र मध्य पहाडमा १५ दशमलव १२ प्रतिशत धान रोपाइँ भएको छ । उच्च पहाडमा ५८ हजार १ सय ५८ हेक्टर, मध्य पहाडमा ३ लाख ९९ हजार ६ सय ७५ हेक्टर र तराईमा १० लाख ९४ हजार ६ सय ६ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।
यसैबीच, दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औधोगिक बनाउन आग्रह गर्नु भएको छ । कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम भएको भन्दै उहाँले त्यसलाई सफल पारी उत्पादन बढाउन पर्ने बताउनु भयो । असार १५ राष्ट्रिय धान दिवस देशभर मनाइदै