कांग्रेसले कम्युनिस्ट पाटी फुटिदिएदेखि हाम्रो पालो आउँछ भन्ने नसोचे हुन्छ : दाहाल

 

काठमाडौं । — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको नेतृत्व असफल भयो भने देश नै खतरामा पर्ने बताएका छन् ।

 

राष्ट्रिय सभागृहमा शनिबार आयोजित विचार गोष्ठी तथा मदन भण्डारी पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कम्युनिस्ट नेतृत्वको सरकार असफल भएमा देशमा ठूलो संकट आइपर्ने धारणा राखे । उनले भने, ‘देशको सिस्टम पनि जानेवाला छ । देश नै खतरामा पर्नेवाला छ ।’

पार्टी सुदृढ पार्ने, सरकारलाई सफल पार्ने, जनआकांक्षालाई सम्बोधन गर्ने कुरामा असफल भयौं भने आफूहरु (ओली र दाहाल) मात्रै वा नेपाल कम्युनिस्ट पार्टीको मात्रै असफलता नहुने उनले बताए। दाहालले कम्युनिस्ट नेतृत्व असफल भएमा कांग्रेसले समेत नेतृत्व गर्ने स्थिति नआउने जिकिर गरे। ‘कांग्रेसले कम्युनिस्ट पार्टी झगडा गरेर फुटिदिएदेखि हाम्रो पालो आउँछ भन्ने सोच्दै नसोचे हुन्छ’, कार्यक्रममा सहभागी कांग्रेस नेता कृष्ण सिटौलालाई इंगित गर्दै दाहालले भने, ‘कांग्रेसले लिड गर्ने स्थिति पनि अब नेपालमा छैन।’

पार्टी निर्माण, सरकार सफल पार्ने, जनताका आकांक्षाहरु सम्बोधन गर्ने प्रक्रियामा राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिहरुलाई सन्तुलनमा राख्ने प्रक्रियामा पार्टीको सबै पंतिको समान बुझाइ, चिन्ता र सामूहिक मेहनत भएन भने दुई नेता असफल हुने खतरातिर जाँदैन भन्न नसकिने दाहालको भनाइ थियो। पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले कम्युनिस्ट पार्टी सकिएमा अब कम्युनिस्ट आन्दोलन यो स्तरमा नउठ्ने बताए। ‘हामीले पार्टी एकता गर्‍यौं, एकता गरेर असफल भइसकेपछि कम्युनिस्ट आन्दोलन यही रुपमा उठ्न सायदै सम्भव हुन्छ’, उनले भने, ‘बरु दुइटै पार्टी भइदिएको भए एकले अर्कोलाई दोष दिँदै कहिले को ठूलो, कहिले को ठूलो हुने सम्भावना थियो। अब सम्भावना छैन। सिद्धियो भने दुइटै एकैचोटी सिद्धिन्छ।’

दाहालले नेता, कार्यकर्तालाई सकारात्मक उत्प्रेरणा दिन आग्रह गरे। आलोचना र नकारात्मक मात्रै कुरा उप्काएमा दिमाख खराब हुने बताउँदै दाहालले सकारात्मक उत्प्रेरणा दिएमा आफूहरु पहाडै बोकेर हिँड्न तयार रहेको दाबी गरे।

नेपालमा ठूल्ठूला राजनीतिक घटना भइरहे पनि त्यसको रहस्य पत्ता लगाउने र रोक्न नेतृत्व असफल रहेको दाहालले स्वीकार गरे। उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नारायणहिटी दरबार अगाडि उभिएर दरबार हत्याकाण्डको दोषी पत्ता लगाइछाड्छौं भनेपनि अहिलेसम्म नसकेको बताए। त्यस्तै तत्कालीन नेकपा एमालेका नेता मदन भण्डारीको हत्या नै भएको सबैले भनिरहे पनि छानबिनले पूर्णता नपाएर किटान गर्न नसकिरहेको दाहालले बताए।
प्रतिक्रिया दिनुहोस