काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियाली भाषा परीक्षा सन् २०१९ को परीक्षाफल सार्वजनिक गरेको छ। गत जेठ २५ र २६ मा सम्पन्न भएको कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
जसमध्ये निर्माण सम्बन्धी कामका लागि ९ हजार १ सय ४३ र कृषि कामका लागि २ हजार ८ सय ७६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।
यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले दिएको आवेदनमध्ये ८४ हजार २ सय १५ जना मात्रै भाषा परीक्षामा सहभागी थिए।
परीक्षामा ८ हजार १ सय ४१ जना उपस्थित भएका थिए। अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो।
भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np मार्फत पनि हेर्न सकिनेछ।
दक्षिण कोरियाले १० हजार ५० कामदार लैजाने निर्णय गरेको छ। जसमध्ये उत्पादनमुलक कामका लागि ७ हजार ५० र कृषिका लागि ३ हजार कामदार लैजाने इपिएस शाखाले बताएको छ।
अघिल्लो वर्षको कोरियाली भाषा परीक्षामा ७४ हजार ८ सय ६६ सहभागी परीक्षार्थी मध्ये ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए।
कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ।
दुई सरकारका बीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन्। एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा ४ लाख ८३ हजारभन्दा बढी युवाहरुले सहभागिता जनाइसकेका छन्।
हालसम्म कोरियामा ५८ हजार बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन्। नेपाली युवाहरूका लागि कोरिया निकै महत्वपूर्ण रोजगारीको गन्तव्य मुलुक बन्दै आएको छ।