काठमाडौं , ललितपुरको जावलाखेलमा आज (मंगलबार) एकाविहानै प्रेसर कुकर बम फेला परेको छ । जावलाखेल खेल मैदान अगाडि होटलको सटरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे निस्क्रिय बनाएको छ । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार जावलाखेलमा झोलामा शंकास्पद वस्तु भेटिएपछि स्थानीयले सेनालाई खबर गरेका थिए । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ ।
गएको बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इचार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो । बन्दका कारण लामो दूरीका गाडीहरु चल्न सकेका छैनन् । बम विप्लव समूहले नै राखेको प्रहरीको दाबी छ ।