काठमाडौं : अमेरिकाले फेरि ५ वटा चिनियाँ प्रविधि कम्पनीलाई अमेरिकामा प्रतिबन्ध (कालोसूची) लागाएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकामा चिनियाँ प्रविधिलाई सीमित गर्ने योजना अनुसार थप प्रविधि उत्पादनमा प्रतिबन्ध गरिएको हो । आगामी साता जापानमा हुने जी २० बैठकमा यी दुई मुलुकबीच व्यापारिक द्धन्द्धका बारेमा वार्ता गर्ने तयारी भइरहँदा अमेरिकाले थप चिनियाँ प्रविधि उत्पदानलाई कालो सूचीमा राख्ने घोषणा गरेको हो । तर ट्रम्पको यस रणनीतिले चीन भने थप आक्रोशित बनेको छ ।
शुक्रबार अमेरिकी वाणिज्य विभागले ४ वटा प्रविधि कम्पनी र एउटा रिसर्च इन्स्टिच्युट अमेरिकामा प्रतिबन्ध लगाएको हो । यसअघि चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेलाई अमेरिकाले प्रतिबन्ध लगाइसकेको छ । अहिले अमेरिकाले प्रतिबन्ध वा कालोसूचीमा राख्ने घोषणा गरेका कम्पनीहरुमा चीनको उत्कृष्ट सुपर कम्प्युटर बनाउने कम्पनी, इलेक्ट्रिकल कम्पनी र रिसर्च इन्स्टिच्युट रहेका छन् ।
यसका साथै ट्रम्प प्रशासनले हिकभिजन–सीसी क्यामेरा कम्पनी पनि प्रतिबन्ध लगाइने अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । सुरक्षाका कारण जनाउँदै थप प्रविधि सामानमा प्रतिबन्ध घोषणा गरिएको हो । यो प्रतिबन्धले आगामी साता जापानमा हुने व्यापारिक वार्तामा असर पुग्ने विश्लेषण हुन थालेको छ । यता, यसबारेमा चीनले भने अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन ।
ट्रम्पले यही जुन २८ र २९ तारेखमा जापानमा हुने जी २० बैठकमा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्ने तयारी गरिरहेका छन् । उक्त वार्तापछि व्यापारिक युद्ध समाप्त हुने अनुमानहरु भइरहेका बेला चिनियाँ थप सामानमा प्रतिबन्ध घोषणा गरिएको हो । अमेरिकी रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययनका एक वरिष्ठ सल्लाहकार भन्छन्, यो बैठकमा चीनले अमेरिकलाई नकरात्मक तरिकाले हेर्नेछ ।
ट्रम्प सरकारले मे १० मा करिब २ खर्ब बराबरको चिनियाँ सामानमा २५% का दरले कर वृद्घि गरेको थियो । ३ खर्ब सामानमा लेवी ड्युटी समेत लगाइएको थियो । चिनियाँ राष्ट्रपतिसँग जी २० मा बैठकका क्रममा वार्ता असफल भए अहिले लगाइएको अतिरिक्त कर थप वृद्धि हुन सक्ने समेत ट्रम्पले चेतावनी दिइरहेका छन् ।