काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्न ‘बिग्रिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ खारेज गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै डा. भट्टराईले अहिलेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नै नसक्ने दाबी गरे ।
‘अख्तियारसहितका संवैधानिक आयोगमा टीको लगाएर पदाधिकारी राखेपछि बिग्रिएको हो’, उनले भने, ‘अख्तियारको विकल्प खोजौँ, लोकपाल बनाऊँ। त्यसो नभएसम्म भ्रष्टाचार रोकिँदैन र रोक्न सकिँदैन।’
भ्रष्टाचारको कुरा आउनेबित्तिकै नेताहरुबीच एकअर्कालाई दोषारोपण गर्ने क्रम बढेको बताउँदै उनले यस्तो प्रवृत्तिबाट भ्रष्टाचार झन् मौलाउने जिकिर गरे । ‘सुन तस्करी काण्डदेखि एनसेलको कर र बालुवाटारको जग्गा किनबेच काण्ड हेर्दा भ्रष्टाचारको भयावहरुप बुझ्न सकिन्छ’, उनले भने, ‘अहिलेकै तरिकाले अख्तियारले भ्रष्टाचार घटाउँदैन। यसको विकल्पमा शक्तिशाली लोकपाल या अरु कुनै विकल्प खोजौँ।’
कर्मचारीतन्त्र तोडौँ
डा. भट्टराईले देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने हो भने अहिलेको कर्मचारीतन्त्रलाई भत्काउन सक्नुपर्ने उल्लेख गरे ।
‘कर्मचारीतन्त्रको प्रक्रियामुखी शैलीबाट विकास हुँदैन। सोपना प्रवृत्तिको ब्यरोक्रेसी भत्काउनै पर्छ’, उनले थपे, ‘कर्मचारीतन्त्रमा ठुलो ण्सुधार र पुनर्संरचना नगरेसम्म केही हुँदैन, समृद्धि र विकास नाराको कुनै अर्थ हुँदैन।’
एउटा फाइल सदर गर्न ६ महिना लगाउने कर्मचारीबाट देश विकासको कल्पना गर्नु व्यर्थ हुने उनको भनाइ थियो । ‘यही कर्मचारीतन्त्रले बजेट कार्यान्वयन पनि हुन सक्दैन, अहिले पनि ४६ प्रतिशत मात्रै बजेट कार्यान्वयन भएको छ’, भट्टराईले थपे, ‘त्यसैले अब ढिला नगरी अहिलेको कर्मचारीतन्त्र भत्काउन लागौँ।’
सुदखोर जस्ता बैंक
डा. भट्टराईले नेपालको बैंकिङ प्रणालीमाथि पनि कडा प्रहार गरेका छन् । ‘बैंकिङ प्रणली सुधार नहुन्जेल देशको अर्थतन्त्र उँभो लाग्दैन। बैंकहरु आधुनिक सुदखोर बनेका छन्’, उनले भने, ‘देश कंगाल हुने तर बैंकमात्रै धनी हुने प्रवृत्ति रोकिनुपर्छ ।’