काठमाडौं – माइतीघरको ‘वेभ’ अझै सकिएको छैन । यो अगाडि बढ्छ । यसको राजनीतिक प्रभाव अझै पर्ने देखिन्छ । अब थुप्रै संगठित समूहले आवाज उठाउँछन् । कांग्रेसकै मुख खुल्यो नि । नेकपामै दबिएर बसेको आवाज मुखरित भएर सरकारमाथि अब एकपटक खनिन्छ ।
अब अधिकांश विधेयकमा सरकार रक्षात्मक बन्छ । हिजोको गतिमा सरकार अगाडि बढ्न सक्दैन । कम्तिमा सरोकारवालासँग छलफल गर्छ । यो विवेकी बाटो हो । प्रधानमन्त्रीले आफूलाई पूर्णरुपमा सूचित छु भन्दै आउनुभएको छ । आफूलाई भेट्न आउनेहरूलाई राति साढे एक बजेसम्म काम गर्छु भन्ने प्रभाव देखाउनुहुन्छ । प्रधानमन्त्रीले साँच्चै पठन पाठन गर्नुुहुन्छ भने अब सरकारले प्रत्येक विधेयकमा सरोकारवालासँग छलफल गर्ला ।
,
तर, यसलाई प्रतिक्रियात्मकरुपमा लियो भने अर्को यस्तै आँधीबेहरी आउन सक्छ । प्रधानमन्त्रीको व्यक्तिगत स्वभाव अनुसार प्रतिक्रियामा जानुभयो भने सरकार दुर्घटनामा पर्छ । त्यो दुर्घटना कँहीबाट आउँदैन, नेकपाबाटै हुन्छ ।
अब कि त प्रधानमन्त्री ओलीमा नरम व्यवहार देखिन्छ । वा, एकदमै फ्रस्टेसन आउन सक्छ । प्रधानमन्त्रीको विगत हेर्दा उहाँले पाठ नसिक्ने सम्भावना पनि उत्तिकै छ ।
माइतीघरमा जुलुस त गुठी विधेयक फिर्ता भइसकेपछि भएको हो । फिर्ता लिएर हुँदैन, खारेज नै हुुनुपर्छ भन्ने नारा लाग्यो । यसको मतलब यो सरकार ओरालो लाग्यो । त्यतिमात्रै होइन, तीनजना मन्त्रीको राजीनामा गराउनुपर्छ भन्ने नारा पनि लाग्यो । यसले प्रधानमन्त्री ओलीलाई यस्तो कुराले धर्मसंकटमा पार्न सक्छ । तीनजना मन्त्री अचानोमा पर्छन् । प्रधानमन्त्रीमा यो जनउभारलाई यहीँ रोक्न सक्छु भन्ने सोच आउन सक्छ । त्यसका लागि उनले भूमि व्यवस्था वा सञ्चारमन्त्रीलाई राजीनामा गराउन सक्छन् ।
मलाई के लाग्छ भने यस्तो अवस्थामा अब प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्छन् । यो ग्यारेन्टी छ । कसै न कसैलाई बलीको बोका बनाउँछन् । यिनीहरूका कारणले मेरो विरुद्धमा यत्रो जनमत बनेको हो भनेर प्रधानमन्त्रीले कहीँ न कहीँ, केही न केही एक्सन लिनैपर्छ । प्रधानमन्त्रीले एक्सन लिएनन् भने प्रचण्ड एक्सन लिन बाध्य हुन्छन् । मैले जानेको संसदीय पद्दति त्यही नै हो ।
त्यसर्थ, मन्त्रिपपरिषद पुनर्गठन मात्रै होइन, नेकपा पार्टीको आन्तरिक जीवनमा पनि यसको प्रभाव पर्ने देखिन्छ । अब पार्टीभित्र मुखरितरुपमै प्रधानमन्त्रीको आलोचना हुन्छ । नेकपाभित्र प्रधानमन्त्रीको आलोचना गर्दा उनले अवसर नदेलान् र पार्र्टीेले अचानोमा पार्ला भन्नेहरू अब बोल्न थाल्नेछन् ।
जनता सडकमा निस्किसकेपछि सबैभन्दा बढी राहत पार्टीभित्र आवाज दबाएर बसेकाहरूले पाउँछन् । यस्तोबेलामा समकालीनहरूको नाम सुन्दा प्रधानमन्त्रीलाई झर्को लाग्न सक्छ । पार्टीको आन्तरिक जीवन र मन्त्रिमण्डलमा माइतीघरको पराकम्प असर अझै देखिने सम्भावना छ ।
अब कि त प्रधानमन्त्री ओलीमा नरम व्यवहार देखिन्छ । वा, एकदमै फ्रस्टेसन आउन पनि सक्छ । जस्तो, पञ्चायतको अन्तिम कालमा शासकहरुमा फ्रस्टेसन देखिएको थियो ।
प्रधानमन्त्रीको विगत हेर्दा उहाँले पाठ नसिक्ने सम्भावना पनि उत्तिकै छ । दुई तिहाईको प्रधानमन्त्री बनेपछिको अभिव्यक्ति र कार्यशैली हेर्दा जुलुस हेरेर आफूलाई सुधार्ने, जनतासँग आफूलाई जोड्ने र विवेकसम्मत निर्णय लिने सम्भावना कम देखेको छु । खतरा यहीँनेर छ ।
तर, यसरी दुई तिहाई सरकार चल्दैन । भारतमै राजीव गान्धीको दुई तिहाईवाला सरकार गएको होइन ? प्रधानमन्त्री ओली आफंै अध्ययनशील मान्छे हो भने संसदीय इतिहास हेर्दा हुन्छ । जनमत बिग्रनु र बन्नुमा एकपटक पाएको दुई तिहाईको खासै अर्थ हुँदैन । आज काठमाडौंमा चुनाव भयो भने के होला ? पक्कै हिजोजति मत आउँदैन ।
प्रधानमन्त्रीको भनाइ हेर्दा म खतरा देख्छु । ‘रियलाइजेसन’ छैन । त्यसैले ‘रियाक्सन’ बढी आउँछ कि जस्तो लाग्छ । रिलाइजेसनलाई विवेकसम्मत नबनाएर प्रतिक्रिया मात्रै आयो भने कम्युनिष्ट पार्टी फुट्न सक्छ । यसमा भूतप्रेत, राजावादी, विप्लववादी होइन, प्रचण्डले खेल्छन् । तँ अलोकप्रिय भइस्, सरकारले काम गर्न सकेन भन्छन् । त्यसमा माधव नेपाल, झलनाथ खनालहरूले पुट दिन सक्छन् ।