अख्तियारको फन्दामा परे ट्राफिकका हवल्दार

दाङ-दुई सय रुपैयाँ घूस माग्दा दाङमा कार्यरत एक जना ट्राफिक प्रहरीका हवल्दार अख्तियारको फन्दामा परेका छन्।

मोटरसाइकलमा सवार एक व्यक्तिसँग चालक अनुमति पत्रलगायतका कागजपत्र नभएपछि उनले दुईसय रुपैयाँ घूस मागेका थिए।

जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले प्रहरी हवल्दारले दुईसय रुपैयाँ घूस लिएको गुनासो सुन्नासाथ उनलाई पक्राउ गरी थुनामा राखेका थिए।

त्यसपछि हवल्दारलाई दुई सय रुपैयाँ घूस दिने व्यक्तिले समेत पछि पत्रकार हुँ भन्दै उल्टै बार्गेनिङ गरेको खुलेपछि दुवै जनालाई कारबाहीका लागि अख्तियारको ५ नं. प्रदेश कार्यालय बाँकेका पठाइयो।

यसरी परे फन्दामा

जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेका अनुसार जेठ १८ गते तुलसीपुर निवासी न्यौपाने घोराहीस्थित पाण्डबेश्वर मन्दिरतर्फ जाँदै थिए।

उपमहानगरपालिका वडा नं. १५ स्थित सडकमा ट्राफिक हवल्दार पूर्ण आकाश सिंह ड्यूटीमा खटिएका थिए।

न्यौपानेसँग सवारी चालक अनुमति पत्र, गाडीधनीलगायत कागजपत्र पनि थिएन। त्यही भएर घूसस्वरूप ट्राफिक हवल्दार सिंहले न्यौपानेसँग दुई सय रुपैयाँ घूस बापत मागे। त्यो रकम दिएलगत्तै न्यौपानेले ‘म पत्रकार हुँ’ भन्दै सबैकुरा भिडिओ रेकर्ड गरेको नाटक गरे। त्यसपछि भने घटनाले उल्टो मोड लियो।

ट्राफिक हवल्दार सिंहसँग न्यौपानेले कुरा सार्वजनिक नगर्ने भए ५ हजार दिन माग गरे। तत्कालै ट्राफिक हवल्दार सिंहले न्यौपानेलाई ५ हजार रकम दिए। तर न्यौपानेले थप ५० हजार दिन ट्राफिक हवल्दारलाई ताकेता गरे। अन्यथा दुई सय घूस लिएको भिडिओ सार्वजनिक गरिदिने चेतावनी दिए।

ट्राफिक हवल्दार सिंहले ५० हजारको चेकमा हस्ताक्षर गरेर पनि न्यौपानेलाई दिए। त्यतिले पनि नपुगेर न्यौपानेले अरु थप ५० हजार नगद माग गरे। त्यो कुरा एसपी पाण्डेसम्म पुग्यो। एसपी पाण्डेले न्यौपानेलाई पक्रन जुक्ति गरे।

उनले ट्राफिक हवल्दार सिंहलाई जुक्ति सुझाए।

ट्राफिक हवल्दार सिंहले ५० हजार नगद लिनका लागि जेठ २३ गते तुलसीपुरका न्यौपानेलाई घोराही बोलाए।

एसपीको योजनाअनुसार सादा पोशाकका प्रहरी ट्राफिक हवल्दार प्रहरीको निगरामीमा खटाइए। नभन्दै जेठ २३ गते दिउँसो न्यौपाने घोराही पुगेर ट्राफिक हवल्दार सिंहसँग थप ५० हजार बुझ्दै गर्दा पक्राउ परे।

सोही दिन जिल्ला प्रहरी प्रमुख एसपीले पक्राउ परेका दुवै जनालाई घूस र भ्रष्टाचारको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय बाँकेमा पठाइदिए।

बाँकेबाट जेठ २४ गते दुवै जना अभियुक्तलाई काठमाडौं पठाइएको छ।

दुवै जनामाथि अख्तियारले छानबिन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस