पहिरन विवादबारे वर्षाको बयानः ‘जवाफ दिन जरुरी छैन’

काठमाडाैँ-प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ को सफलताले हौसिएकी अभिनेत्री वर्षा राउत खासै विवादमा फसेकी छैनन् । यद्यपि, विभिन्न कारणले फिल्मवृतमा उनको चर्चा भने भइरहेको हुन्छ । तर, कहिले काहिँ जीवनमा नसोचेको घटना आइपर्छ । गर्न एउटा खोजे पनि भइदिन्छ अर्को । फिल्म करिअरको करीब ५/६ वर्षमा खासै मुश्किल समय नगुजारेकी वर्षाले हालै एक कठिन परिस्थितिको सामना गर्नुपर्‍यो ।

फिल्म ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि अष्ट्रेलियामा रहँदा उनी नराम्रोसँग ट्रोलको शिकार भइन् । यसको कारण थियो, उनको पहिरन । उनले लगाएको सेतो र कालो रंग मिसिएको पहिरन घाँटीतर्फको भाग निकै खुलेको थियो । भने, बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको थियो । उनको यस पहिरनले दर्शक अचम्मित भए । किनकि, यसअघि वर्षा यस प्रकारको पहिरनमा देखिएकी थिइनन् ।

ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै ट्रोल बनाए । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बने । यसले उनको व्यक्तिगत जीवनमा नराम्रो असर गर्‍यो । तर, उनलाई श्रीमान् संजोग कोइरालाले नै साथ दिए । संजोगले उनलाई जस्तोसुकै परिस्थितिमा साथ दिने भन्दै स्टाटस लेखे । ‘जात्रै जात्रा’ टिमले पनि वर्षालाई हौसला दिँदै स्टाटस लेख्यो । केही सेलिब्रेटीले पनि उनलाई सपोर्ट गरे ।

पर्दामा प्रायः साधारण युवती वा विवाहित महिलाको भूमिका निभाउँदै आएकी वर्षा पहिरनलाई लिएर भएको विवादबारे भने लामो समय मौन रहिन् । तर, मंगलबार राजधानीमा भएको फिल्म ‘जात्रै जात्रा’ को स्पेशल शोमा सञ्चारकर्मीले पहिरनलाई लिएर भएको विवादबारे उनको भनाई जान्न खोजे । ‘जीवन जात्रा हो’ लेखिएको टिर्सट लगाएकी उनले आफूलाई सपोर्ट गर्ने सबैलाई धन्यवाद दिँदै यसको जवाफ दिन जरुरी नभएको बताइन् ।

‘म त्यस पहिरनमा कन्फटेबल छु । मेरो वरिपरि भएका मानिसहरुलाई समस्या छैन । मेरो परिवारलाई केही समस्या छैन । मलाई माया गर्ने दर्शकहरुलाई केही समस्या छैन भने मलाई यसको जवाफ दिन आवश्यक छ भन्ने लाग्दैन’, उनी कड्किइन् । वर्षाले आफ्नो व्यक्तिगत जीवनमा भने ट्रोलले केही फरक पारेको बताइन् । आफूलाई मन परेको पहिरन लगाउन पाउने स्वतन्त्रता सबैमा रहेको पनि उनी बताउँछिन् ।

अहिले वाक स्वतन्त्रताको कुरा उठिरहेको अवस्थामा पहिरनमा पनि स्वतन्त्रता हुने बताउँदै वर्षा अगाडि भन्छिन्, ‘आफूलाई जे मन लाग्छ त्यो लगाउनुस् । र, दुनियाँको कुरा नसुन्नहोस् ।’ वर्षाको पहिरनको विवाद भएपछि उनको समर्थनमा फेसबुकमा स्टाटस लेखेका ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईले यसलाई आफूले साधारण रुपमा लिएको बताए । यस विषयमा अभिनेता विपिन कार्की भने मौन रहे ।


प्रतिक्रिया दिनुहोस