काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा भएका डिआइजीहरुलाई मंगलबार गृह मन्त्रालयमा बोलाएर सचेत भएर काम गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री थापाले भने, ‘प्रतिपक्षले साना विषय पनि उचालिरहेका छन्, सचेततापूर्वक काम गर्नुस्।’
शान्ति सुरक्षा, सुशासन र जनतालाई प्रभावकारी सेवा प्रवाह हुनेगरी काम गर्न निर्देशन दिएका थिए। प्रहरीले जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।
आफूलाई कर्मचारी मात्र नठानी जिम्मेवार नागरिक पनि हुँ भन्ने गरी काम गर्न गृहमन्त्री थापाले निर्देशन दिए। ‘प्रदेशअनुसार फरक-फरक समस्या र विशिष्टता छन्। सोहीअनुसार काम गर्नु। तस्करीका नयाँ रुट खुलेको सुनिन्छ। कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका पनि खबर आउने गर्छन्। सचेत हुनु,’ गृहमन्त्री थापाले भने।
विप्लवका गतिविधि नियन्त्रणमा लिनेगरी काम गर्न र राजावादी र विखण्डनवादीका गतिविधि पनि निगरानीमा राख्न गृहमन्त्री थापाले निर्देशन दिए।