राधेले आँखा गाडेको टेन्डरबाट अरु “आउट” तरुण दलले काखी च्यापेको राधेको आपराधिक यात्रा यस्तो।

धादिङ –  धादिङ बेनीघाट रोराङ गाँउपालिका – ३ स्थित मलेखु खोलाको निकासी ठेक्का यसपालि पनि गुन्डाको नाइके राधाकृष्ण भण्डारी उर्फ राधेले हात पारे । चार करोडको उक्त निकासी ठेक्कामा राधेले दाबी गरेपछि अरुले टेन्डर फिर्ता लिए। गत साल पनि मलेखु खोलाको निकासी ठेक्का राधेले नै हात पारेका थिए ।

टेन्डर प्रतिस्पर्धाबाट अरुले हात झिक्नुमा विद्यमान राधेको अपराधिक “दबदबा” को त्रास प्रमुख कारण रहेको स्थानीय पीडितहरू बताउछन् । टेन्डर हात परेपछि मलेखु खोलाबाट निर्माण सामग्रीको निकासी कर राधे समूहले उठाउँदै आएको छ । राधे समूहको इसारामा यहाँबाट निर्माण सामग्री झिकिन्छ, कानूनी र गैरकानुनी दुबै तरिकाले।

वडा नम्बर ३ वडाध्यक्ष भुवन त्रिपाठीका अनुसार राधे समुहले कानूनीरुपमै ठेक्का हात पारेपछि निकासी कर त्यही समूहले उठाउन थालेको हो । “यसमा म अरु केही भन्न चाहन्न” त्रिपाठीले भने ।

स्थानीय तथा प्रहरीका अनुसार निकासी कर ठेक्का नै आफैले उठाउने भएपछि स्वाभाविक रुपमा राधे समूहले खोलानाला, क्रसर तथा ढुंगाखानीमा चासो राख्ने गरेको छ । प्रहरीका अनुसार राधे समूहले अबैध असुली गरिरहेको छ । यस हिसाबले त्यहाँ राधे समूहबाट सुरक्षा चुनौती छ ।

यो गाउँपालिका इलाका प्रहरी कार्यालय गजुरी अन्तर्गत पर्छ । प्रहरी निरीक्षकको दरबन्दी रहेको यो इलाकामा हालै प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरिक्षक (डीएसपी) खटाउने निर्णय गरेको छ। सुरक्षा चुनौती मूल्यांकन गरेर त्यहाँ डिएसपीको दरबन्दी कायम गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काको सरुवा गरेको छ।

२०७६ जेठ २२ गते राधे र उनको समूहका चार जनालाई प्रहरीले पक्राउ गरी ज्यान मुद्दा चलाएको छ । ज्यान मुद्दा चलाइएका मध्ये राधे कांग्रेस निकट तरुण दलका धादिङ उपाध्यक्ष हुन् । राधेलाई मुद्दा चलाइएकोमा तरुण दलले औपचारिक रुपमै आपत्ति जनाउँदै देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

राधेको आपराधिक सुची
प्रहरी स्रोतका अनुसार, तरुण दलले निर्दोष भनेका राधेका थुप्रै आपराधिक गतिविधि छन् । १२ वर्षदेखिको आपराधिक यात्रामा राधे प्रहरीको खोजीमा पर्ने , पक्राउ पर्ने , छुट्ने अनि फेरि आपराधिक गतिविधि गर्ने क्रम चलिरहेको छ । धादिङ नीलकण्ठ नगरपालिका – ३ का राधेको आपराधिक गतिविधिको रहस्योदघाटन २०६४ मा भएको थियो । प्रहरीका अनुसार, राधे अबैध असुली , ठेक्कापट्टा, टेन्डरमा मात्र नभएर अन्य थुप्रै घटनामा पक्राउ पर्दै अदालतबाट छुटेका व्यक्ति हुन् ।

महानगरीय अपराध महाशाखाका अनुसार सुरुमा दिनेश अधिकारी “चरी”को समूहमा रहेर राधे आपराधिक गतिविधि गर्थे । चरी समूहमा रहँदै २०६४ साल कात्तिक २४ गते धादिङकै गणेश ठकुरीको घरमा गएर टाउकोमा हेल्मेट प्रहार गरी घाइते बनाएको घटनाबाट राधेको गुण्डागर्दी बाहिर आएको हो । प्रहरी स्रोतका अनुसार, यो बीचमा तरुण दलले काखी च्यापेपछि राधेले चरीको समूह छोडे । महाशाखाका अनुसार अहिले राधे निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्यामा जेल परेका समीरमान बस्नेतसँग निकट छन।

२०७० असार २१ गते बा १० च ६९९३ को गाडी रोकेर राधेसहितको समुहले दिनेश अधिकारी “चरी” लाई खुकुरी र गोली प्रहार गरी घाइते बनाएको थियो। चरीको दाहिने पाखुरामा गोली लागेको थियो । त्यो घटनामा फरार राधे २०७० साउन १३ पेस्तोल सहित पक्राउ परेका थिए । त्यस पछि केही समय जेल परेर छुटेका थिए । यस्तै २०७४ असार ५ गते धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय आयुष तामाङलाई राधेसहित उनको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो । त्यो घटना पछि राधे फरार थिए । नेपाली कांग्रेसको आडमा गुण्डागर्दी गर्ने राधेलाई धादिङ प्रहरीले देखे पनि नदेखे झै गर्दथ्यो ।

प्रहरीसम्म आइनपुगेका थुप्रै घटना रहेको महानगरी अपराध महाशाखा स्रोत बताउँछ । “डर त्रासका कारण यस्ता व्यक्तिहरूबाट पीडित व्यक्ति प्रहरीमा आएर हत्पत उजुरी दिंदैनन् ” महाशाखाका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहाल भन्छन् ।

प्रतिक्रिया दिनुहोस