प्रधानमन्त्री अोलीले गुठीसम्बन्धी विधेयक सच्याउने प्रतिबद्धता गरे।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठीसम्बन्धी विधेयक सच्याउने प्रतिबद्धता जनाएका छन्।

साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै धर्म संस्स्कृतिमा असर परेको  भए त्यसलाई सच्याइने बताए।

‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर विधेयकमा परेको रहेछ भने सरकारले सच्याउँछ,’ प्रधानमन्त्री ओलीले भने, ‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ। त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो, सबैतिर होइन।’

सरकार जनतालाई दुःखी नभई खुसी भएको हेर्न चाहेको भन्दै प्रधानमन्त्री ओलीले यही कुरालाई लिएर आन्दोलन चर्काउनेलाई कुनै ‘चान्स’ नदिने स्पष्ट पारे।

‘सरकार जनतालाई दुःखी बनाउन चाहँदैन,’ उनले भने, ‘खुसी भएको हेर्न चाहन्छ। यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुलाई कुनै चान्स आउनेवाला छैन।’

विवादित लोकसेवा विज्ञापनबारे भने ओलीले बोल्न चाहेनन्। यसबारेको विवाद अहिले अदालतमा विचाराधीन भएकाले अहिले आफूले त्यसबारे केही बोल्न नसक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस