काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा साताव्यापी भ्रमणमा चीन जाने भएका छन्।
छिमेकी राष्ट्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा नेपाल सरकारको निर्णय बमोजिम थापा असार १ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रधानसेनापतिमा नियुक्तिपश्चात् थापाको यो पहिलो चीन भ्रमण हो। थापा नेतृत्वको भ्रमण दलमा श्रीमती दिपा थापा तथा कार्यकारी उपरथी अनन्त कार्कीसहित ८ जना समेत रहनेछन्।
थापाको भ्रमणदल असार १ गते एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीनको छेङ्दु हुँदै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
एक साता लामो भ्रमणका क्रममा प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमण गर्नेछन्। त्यस्तै, उनले चिनियाँ सेनाका उच्चस्तरीय पदाधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउने नेपाली सेनाको विश्वास छ।
प्रधानसेनापति थापा असार ७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।