काठमाडौं- साताव्यापी युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली समकक्षी एडवार्ड फिलिपसँग भेटवार्ता गरेका छन्। बिहीबार दिउँसो भएको भेटमा द्विपक्षीय हितका विषयमा सौहार्दपूर्ण कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले ट्वीटरमा उल्लेख गरेका छन्।
भेटकै क्रममा फ्रान्सेली प्रधानमन्त्रीले नेपालले विश्वका विभिन्न भू-भागमा शान्ति कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।
वार्तामा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्दै फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गरेका थिए।
फ्रान्सका समकक्षीसँग भेटघाट गर्नुअघि प्रधानमन्त्री ओली तीन वटा कार्यक्रममा उपस्थित भएका थिए।
प्रधानमन्त्री ओलीले बुधबार फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरेका थिए। कार्यक्रममा फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधिले भाग लिएका थिए।
प्रधानमन्त्री ओलीले फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गरेको पेरिसस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
दुवै अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध लगानीको अवसरका विषयमा जानकारी दिँदै फ्रान्सेली कम्पनीलाई लगानीका लागि आग्रह गरेका थिए।
बुधबार साँझ प्रधानमन्त्री ओली राजदूत अधिकारीले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए।
प्रधानमन्त्री ओली बेलायतको ३ दिने औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको ३ दिने भ्रमणका लागि बुधबारै भूमिगत रेलमार्फत राजधानी पेरिस पुगेका थिए।
पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा उनलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, फ्रान्सेली शिष्टाचार अधिकृत फ्राँस्वा जेभियर लेजर तथा पेरिसस्थित नेपाली राजदूतावासका अधिकारीले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि छन्।
(प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै फ्रान्सका प्रधानमन्त्री।)