रुपनी गाउँपालिकाका इन्जिनियर श्रेष्ठ १ लाख रुपैयाँ घुससहित पक्राउ।

राजविराज– सप्तरीको रुपनी गाउँपालिकाका इन्जिनियर विकास श्रेष्ठ १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले बिहीबार बिहानै उनलाई पक्राउ गरेको हो।

राजविराज-६ स्थित डेराबाटै श्रेष्ठलाई पक्राउ गरिएको टोलीको नेतृत्व गरिरहेका डिएसपी श्यामकुमार सारु मगरले जानकारी दिए। उनी काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा हुन्।

तत्कालीन जिल्ला विकास समितिको योजनाअनुसार तरहीस्थित स्वर्ण खोलामा निर्माण गरिएको झोलुङ्गे पुल फरफारकका क्रममा श्रेष्ठले उपभोक्ता समितिबाट घुस लिएको अख्तियारले दाबी गरेको छ। योजनामा श्रेष्ठ साइड इन्जिनियर थिए।

जिल्ला विकास समितिमा कार्ययरत रहेका श्रेष्ठ स्थानीय तह निर्वाचनपछि कर्मचारी मिलानका क्रममा रुपनी गाउँपालिकामा पुगे पनि झोलुङ्गे पुलको सम्पूर्ण रेखदेख उनले नै गर्दै आएका थिए।

श्रेष्ठलाई प्रारम्भिक अनुसन्धानका लागि इटहरी र त्यसपछि आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा पठाउने डिएसपी सारु मगरले बताए।

प्रतिक्रिया दिनुहोस