जोहन्सवर्ग-
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ।
देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले उनीमाथि अनुसन्धान गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन्। उनको प्रचारप्रसार कोषका लागि एक कम्पनीले दिएको ५ लाख डलरमा अनियमितता भएको आरोप उनीमाथि लागेको छ।
राष्ट्रपतिका रूपमा रामाफोसा गत महिना मात्रै पुनः निर्वाचित भएका थिए। उनी सन् १९९९ मा पनि नेल्सन मण्डेलापछि राष्ट्रपति हुने अपेक्षा गरिएको थियो। तर, अन्तिम समयमा थाबो एम्बेकी राष्ट्रपतिमा चयन भएका थिए।
रामाफोसा रङ्गभेदविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १९७४ र १९७६ मा जेल परेका थिए। त्यसैगरी, उनी सन् १९९० मा नेल्सन मण्डेलालाई थुनामुक्त गर्न तयारीका लागि गठित समितिका अध्यक्ष पनि बनेका थिए।
लामो र कठोर राजनीतिक सङ्घर्ष गरेका रामाफोसाले राष्ट्रपति बनेपछि भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए पनि अहिले आफैं भ्रष्टाचार गरेको अभियोगमा फसेका छन्। रासस/एएफपी