काठमाडौँ- साताव्यापी युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गरेका छन्।
१२ ए किङ्स प्यालेस गार्डेन स्थित नेपाली दूतावासको कार्यक्रममा उपस्थित सयौं नेपालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेलायतमा कमाएको सीप, ज्ञान तथा सम्पत्ति लिएर नेपाल फर्किन आह्वान गरे।
नेपालीहरु वीर हुन् भन्ने कुरा बेलायतले सबैभन्दा पहिले चिनेको जनाउँदै सम्बोधनका क्रममा ओलीले गोर्खालीहरुको कर्तव्य, निष्ठा र अनुशासासित भएको चर्चा गरेका थिए।
‘नेपालीहरु वीर छन भन्ने सबै भन्दा पहिले बेलायतले थाहा पायो,’ ओलीले भने, ‘ब्रिटिश गोर्खाको सुरुवात भएपछि दुनियाँले थाहा पाए।’
ओलीले आफ्नो भ्रमणले दुई देशबीचको दौत्य सम्बन्ध अझ प्रगाढ भएको बताए। ‘बेलायत हाम्रो अप्ठ्यारो परिस्थितिको साथी हो’, ओलीको भनाइ थियो, ‘दुई देशबीचको सम्बन्धलाई अझैँ प्रगाढ गराउने सवालमा मेरो बेलायत भ्रमण सफल भएको छ।’
दप्रधानमन्त्री ओलीको सम्मान र स्वागतका नेपाली दूतावासले गरेको कार्यक्रममा बेलायतका विभिन्न शहरहरुबाट सयौं नेपालीहरु उपस्थित भएका थिए।