पिपुल्स च्वाइस अवार्डका लागि मिहिनेत गर्दै महर्जन

काठमाडौं ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा महेश्वर महर्जन परेका छन् । उनले अवार्ड जित्नका लागि शारीरिक सुगठनको अभ्यास गरिरहेका छन् ।

पल्सर स्पोर्टस अवार्डको यो विधामा पाँच प्रत्यासी छन् र त्यसको निर्णय मतका आधारमा हुनेछ । सामाजिक सञ्जाल फेसबुक र एसएमएसमार्फत आएको मतसँगै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेता छानिनेछ ।

महेश्वर शारीरिक सुगठनमा नेपाललाई ऐतिहासिक सफलता दिलाउँदै वर्ल्ड च्याम्पिनयसिप स्तरमै पुगिसकेका खेलाडी हुन् । उनी गतवर्ष सामाजिक सञ्चालमा धेरै खोजिएका नेपाली खेलाडी पनि हुन् । उनले वर्ष ०७५ मा थाइल्यान्डमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक्स च्याम्पियनसिपको ७५ केजी तौल समूहमा उपाधि जितेका छन् । च्याङमाइमा प्राप्त त्यो सफलतापछि धेरैले उनलाई चिन्न थालेका छन्

उनी यत्तिकै रोकिने पक्षमा पनि छैनन् र उत्तिकै दत्तचित्त भएर यस प्रतिष्ठित अवार्ड जित्न लागिपरेका छन् । उनी भन्छन्, ‘यो नेपाली खेलकुदको सबैभन्दा ठूलो अवार्ड हो ।’

सन् १९९७ देखि व्यावसायिक रूपमा यो खेलमा ओर्लिएका महेश्वरले त्यसको ६ वर्षपछि धर्मश्रीमा पहिलोपल्ट भाग लिएका थिए । यसअगाडि भुटानमा भएको ५० औं एशियाली बडिबिल्डिङ च्याम्पियसिपमा पनि स्वर्ण जितेका महेश्वरले धर्मश्रीकै १३ औं संस्करण पनि जिते । उनले त्यसै प्रतियोगिताको ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए । अहिले उनी मिस्टर युनिभर्समा भाग लिन तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस