काठमाडौं :
अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली रेल कोलकाता-हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति दिएको पत्रकार सम्मेलनमा जानकारी दिए।
नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकबारे सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ।’
उक्त बैठक जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा बसेको थियो। नेपाल–भारत रेलसेवा सम्झौताको म्याद सम्झौताको धारा १.४ अनुसार स्वतः पाँच वर्षका लागि नवीकरण भएको जानकारी समेत सचिव अधिकारीले जानकारी दिए।
बैठकमाबारे जानकारी दिँदै सचिव अधिकारीले तेस्रो मुलुकबाट पारवहन ढुवानीका लागि भारतका धाम्रा र मुन्द्रा पोर्ट नेपाल–भारत पारवहन सन्धिमा थप भएको बताए। नेपाल–भारत पारवहन सन्धिमा थप भएसँगै रेलसेवा सम्झौतामा समेत ती पोर्टहरु थप गर्ने सहमति भएको जानकारी दिएको खबर गाेरखापत्र दैनिकमा छ।
त्यसैगरी, नेपाल–भारत रेल सेवा सम्झौतामा संशोधनका लागि नेपालका तर्फबाट १८ अप्रिल २०१८ मा प्रस्ताव गरिएको ‘लेटर अफ एक्सचेञ्ज’ सहित बैठकमा छलफल भएका विषयहरु समेत समेटी पारवहन र ढुवानी सहज बनाउन नेपालका तर्फबाट ‘लेटर अफ एक्सचेञ्ज’ को मस्यौदा पठाउने र उक्त मस्यौदा चाँडो टुङ्ग्याई रेल सेवा सम्झौतामा संशोधन गर्न भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएको जानकारी समेत सचिव अधिकारीले दिए।