नेपाल–भारत सीमा स्तम्भ व्यवस्थित बनाउने सहमति

विराटनगर ।

नेपाल–भारत सीमा स्तम्भलाई सुरक्षित र व्यवस्थित बनाइने भएको छ । विराटनगरमा हालै सम्पन्न फिल्ड सर्भेसम्बन्धी दोस्रो बैठकमा सहभागी नेपाल र भारतका सुरक्षा अधिकारीहरूबीच यसबारे सहमति भएको हो ।

भारतसँग सीमा जोडिएको एक नं प्रदेशका झापा, मोरङ र सुनसरीमा सीमा स्तम्भ मर्मत र निर्माण सम्पन्न भइसकेको छ भने इलाम, पाँचथर र ताप्लेजुङमा काम नै शुरू भएको छैन । बैठकमा सीमा स्तम्भ निर्माणमा देखिएको समस्या आपसी समझदारीमा सम्पन्न गरिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । स्तम्भलाई गुणस्तरीय र टिकाउ बनाउने गरी प्रगति विवरणबारे छलफल भएको उनले बताए । नेपाल–भारत सीमा स्तम्भ सर्वेक्षण, मर्मत–सम्भार, नयाँ सीमा स्तम्भ निर्माण तथा पुनर्निर्माणको जिम्मेवारी पाएको प्राविधिकसहितको संयुक्त टोलीले विराटनगरमा नियमित दोस्रो बैठक सम्पन गरेको हो । यसअघि पहिलो बैठक विहारको सुपोल जिल्लाको वीरपुरमा पुसमा सम्पन्न भएको थियो ।

बैठकमा सीमा स्तम्भ निर्माणको प्रगति विवरणको समीक्षा, गुणस्तर र मर्मत–सभारको विषयमा छलफल भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार नेपाली पक्षले सीमाको बिजोर नम्बरको स्तम्भ निर्माण गर्दै आएको छ भने भारतले जोर नम्बरको स्तम्भको निर्माण र मर्मत काम गर्दै आएको छ । समग्रमा स्तम्भ निर्माण र मर्मतका कुनै कठिनाइ नभएको दुवै देशका अधिकारीले बताएका छन् । भारतको तर्फबाट सर्वेक्षक र सीमा सुरक्षा बल तथा नेपालको तर्फबाट नापी विभागले सीमा स्तम्भको निर्माण गर्दै आएको छ । गतवर्ष झापाको मेची नगरपालिकाको बाहुनडाँगीबाट यो काम शुरू भएको थियो । नापी विभागका प्रमुख नापी अधिकृत शिवप्रसाद लम्सालले सुनसरी, मोरङमा ३, ३ र झापामा १७३ ओटा स्तम्भ निर्माण भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस