काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौ विश्व सम्मेलनको मिति नजिकिदै गर्दा नयाँ नेतृत्वको सरगर्मी बढेको छ । विश्व सम्मेलन तथा महाधिबेशन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदै गर्दा एनआरएनए आइसीसीमा नेतृत्वका लागि आ–आफ्नो दावी आउन थालेको हो । आठांै विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टलाई निर्वाचित गरेको थियो । भट्ट कार्यकालको अन्तिम समयमा छन् । अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिबेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन् । एनआरएनए एनसीसीमा सबैभन्दा पहिला एनआरएनए अमेरिकाले निर्वाचन गरेर नयाँ नेतृत्व छानिसकेको छ । यसैक्रममा एनसीसी निर्वाचन सकिन नपाउँदै आइसीसीको नेतृत्वका लागि आकांक्षीहरुले आ–आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् । आगामी कार्यकालका लागि नयाँ नेतृत्व लिन हङकङमा भएको एनआरएनए क्षेत्रीय भेला, अस्ट्रेलियामा सम्पन्न ओशेनिया क्षेत्रिय भेला भित्रभित्रै माहौल सुरु भएपनि अहिले सतहीरुपमा आकांक्षीहरु बाहिर देखिन थालेका छन् । योसँगै नेतृत्वका लागि दावेदारी दिनेहरु बढिरहेका छन ।
अघिल्लो कार्यकालमै अध्यक्षका दावेदार रहेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफु सर्वसम्मत अध्यक्षको हकदार भएको बताउँदै आएपनि बर्तमान अध्यक्ष भट्टले आफुले शुरु गरेका कार्यहरु बाँकी रहेका भन्दै अझै एक कार्यकाल अध्यक्ष दोहोर्याउने आन्तरिक तयारीमा रहेका छन् । यता पन्तलाई जसरी भएपनि अध्यक्ष बनाउन पूर्व अध्यक्ष जीवा लामिछाने लागिपरेका छना् । केहि समय पहिले एनआरएनएको बिज्ञ सम्मेलनमा एनआरएनएको २ बर्षे कार्यकाल बढाएर ३ बर्षे कार्यकाल बनाउन बर्तमान अध्यक्ष भट्टले प्रस्ताब गरेका थिए । तर, उनको प्रस्तावलाई पूर्व अध्यक्ष लामिछानेको दबाबमा पारित हुन दिईएको थिएन । त्यसपछि बर्तमान अध्यक्ष भट्ट आफु अब एक कार्यकाल अध्यक्ष बन्ने सोचाईमा रहेकोे भट्टको सल्लाहकार समूहका एक सदस्यले नेपालयन खबरलाई बताए ।
यता दोश्रो कार्यकाल उपाध्यक्ष बनिसकेका पन्तले आफुले उल्लेख्य कार्य गरेर आम एनआरएन र नेपालीहरुको मन जितेको बताउँछन । एनआरएनएका अध्यक्ष भट्टले अझै एक कार्यकाल दोहोर्याउने आकांक्षा खुलेर राख्न थालिसकेका छन् । भट्टको पुन अध्यक्ष पद दोहोर्याउने ईच्छालाई उपाध्यक्ष पन्त र उनका समर्थकहरुले स्वीकार्न तयार देखिएका छैनन् । बर्तमान अध्यक्ष भट्ट आफ्नो कार्यकालमा धेरै कामहरु गरेको बताउँछन । उनको कार्यकालमा शंखमुल पार्कको निर्माण सम्पन्नदेखि एनआरएनए भबन निर्माण सम्पन्न र लाप्राक बस्ती निर्माण सम्पन्न जस्ता ठूला काम गरेर आफु सफल अध्यक्षको रुपमा उभिएको प्रमाणित गरिसकेका छन् ।
यता एनआरएनएको चुनाव नजिकिदै गर्दा ईछुक उम्मेदवारहरु आन्तरिक तयारीमा जुटेका छन् । यसपटक उपाध्यक्षको संख्या बढाए संगै उपाध्यक्षमा धेरैले दावी गरिरहेका छन । यसपटक उपाध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्यले पुनः दोहोर्याउने सम्भाबना रहेको छ । आचार्य अध्यक्षको दाबेदारीमै रहेपनि अन्तमा उपाध्यक्ष नै रहने सम्भाबना बढेको छ । उपाध्यक्षमा बर्तमान बर्तमान उपाध्यक्ष सपिला राजभण्डारी, महासचिब बद्री केसी, ओशेनिया संयोजक धर्मराज अधिकारी, एशिया संयोजक किरण थापा, अमेरिकाका पुर्व क्षेत्रीय संयोजक सोनाम लामालगायत उम्मेदवार रहने जनाएका छन् । यस्तै महासचिबमा बर्तमान सचिब डीबी छेत्री, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष डा केशव पौडेललगायतले आकांक्षा देखाएका छन् । सचिबमा एनआरएनए युरोप संयोजक शिव बरुवाल, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी अगाडि जान आकंक्षा राखेका छन् ।
कोसाध्यक्षमा बर्तमान सहकोसाध्यक्ष सोम सापकोटा र मध्यपुर्ब संयोजक आरके शर्माको नाम अगाडी आएको छ । एनआरएनएको अभियानमा अर्को परिचित अनुहार एसी शेर्पा सहकोषाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । यसरी एनआरएनको नयाँ नेतृत्वको चहलपहल बढिरहँदा काम गर्न सक्ने सक्षम नेतृत्व छनौट गर्न आवश्यक छ नत्र भोलि पछुताउनु पर्नेछ । संस्थामा रहेर काम गर्न सक्ने र समय दिन सक्ने नेतृत्व छान्नु नै बुद्धिमानी हुन्छ । अहिले एनआरएनको कोठे बैठकदेखी भेला र सम्मेलनमा आगामी नेतृत्वकै बारेमा चर्चा हुने गरेको छ । अहिले एनआरएनले नेपालबाहिर ८० देशमा आफ्नो संस्था बिस्तार गरिसकेकोले यसको नेतृत्वको महत्व झनै बढेको छ ।