काठमाडौं- काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धी दक्षिण एसियाली सम्मेलन सुरु भएको छ।
गाउँपालिका र नगरपालिकामा पनि विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यका साथ सोमबारबाट सो सम्मेलन आयोजना गरिएको हो।
विपद्, उर्जा र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनिकरणका लागि स्थानीय तहलाई पनि आवश्यक जानकारी दिने उद्देश्यका साथ दक्षिण एसियाका विज्ञहरुसहितको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले जानकारी दिए।
दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले विकसित राष्ट्रहरुले गर्ने कार्वन उत्सर्जनका कारण भएको जलवायु परिवर्तनको प्रतिकूल असरलाई रोक्न सबै दक्षिण एसियाली राष्ट्रहरुलाई सहकार्य गरेर अघि बढ्न आह्वान गरे। उनले बाढी, पहिरो, सुनामीजस्ता विपद् व्यवस्थापनका लागि पनि देशहरुबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
जलवायु परिवर्तनको व्यवस्थापनका लागि नविकरणीय उर्जामा जोड दिनुपर्ने गृहमन्त्री थापाको भनाइ छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नगरपालिका महासंघ र गाउँपालिका महासंघको संयुक्त आयोजनामा भएको सम्मेलनले नेपालको विपद् व्यवस्थापन, उर्जा संकट समाधान र जलवायु परिवर्तनका कारण परेका नकारात्मक प्रभावलाई न्युनिकरण गर्न सघाउ पुग्ने विश्वास लिइएको छ।