भारतको शानदार जित, अस्ट्रेलिया ३६ रनले स्तब्ध

बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति सकिएको खेलमा भारत विजयी भएको छ । ओभलमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो ।

३५३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले सबै विकेटको क्षतिमा ३१६ रन बनाउन सक्यो ।

उसका लागि स्टिभन स्मिथले ६८, डेविड वार्नरले ५६, एलेक्स केरीले ५५, उसमान खावजाले ४२ तथा एरोन फिन्चले ३६ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । भारतका भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान तीन तीन तथा युज्वेन्द्र चहलले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा ३५२ रन बनायो । उसका लागि शिखर धवनले सर्वाधिक रन बनाए । उनले ११७ रनको योगदान दिए ।

यस्तै कप्तान विराट कोहलीले ८२, रोहित शर्माले ५७ तथा हार्दिक पाण्डेयले ४८ रन बनाए । भारतले लगातार दोस्रो जित दर्ता गर्दा अस्ट्रेलिया भने तेस्रो खेलमा पहिलो पटक पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस