पोर्चुगलले जित्यो उपाधि, रोनाल्डोको कप्तानीमा तीन वर्षमा दोस्रो ट्रफी

पोर्चुगलले नेशन्स लिग फुटबलको उपाधि जितेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले पहिलोपटक आयोजना गरेको प्रतिस्पर्धाको उपाधि क्रिष्टियानो रोनाल्डोसहितको टिम पोर्चुगलले जितेको हो ।

घरेलु मैदानमा पोर्टोमा आइतबार राति भएको खेलमा पोर्चुगलले नेदरल्याण्डसलाई १ ० ले हराउँदै उपाधि जितेको हो । रोनाल्डो कप्तानीको पोर्चुगलले तीन वर्षमा दोस्रो उपाधि जितेको हो । सन् २०१६ मा उसले युरोकप फुटबलको उपाधि जितेको थियो फ्रान्सलाई पराजित गरेर ।

नेशन्स लिगको फाइनलमा पोर्चुगलका लागि दोस्रो हाफमा गोन्कालो गुएडेसले गरेको गोल नै निर्णायक बन्यो । गुएडेसले ६० औँ मिनेटमा गोल गरेका हुन् । डच टिमका लागि मेम्फिस डिपेयीले गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर पोर्चुगलका गोलरक्षक रुई प्याट्रिसिओले सुन्दर बचाउ गरे ।

यो खेल दुई कप्तानबिचको प्रतिष्ठाको लडाईँ जस्तै पनि थियो । पोर्चुगलका कप्तान रोनाल्डो र डच कप्तान भर्जिल भान डिजेकले क्लब स्तरमा हालै सकिएको सिजनमा उपाधि जितेका थिए । रोनाल्डोले युभेन्टसबाट सिरी ए तथा भान डिजेकले लिभरपुलबाट च्याम्पियन्स लिग फुटबलका उपाधि जितेका हुन् ।

सेमिफाइनलमा ह्याट्रिक गरेका रोनाल्डोले यो खेलमा गोल गर्न सकेनन् र त्यसको बाधक बने भान डिजेक । ३४ वर्षका रोनाल्डोले गोलका लागि गरेको प्रयासमा भान डिजेकले रोक्ने काम गरेका हुन् ।

यस्तै स्वीट्जरल्याण्डलाई पेनाल्टीमा हराएर इंग्ल्याण्ड नेशन्स लिगमा तेस्रो भएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस