कोरियन भाषा परीक्षा : आठ हजार अनुपस्थित, अरुको नाममा परीक्षा दिन खोज्ने १५६ पक्राउ

 

काठमाण्डौ – कोरियन भाषा परीक्षामा अनियमित कार्य गर्ने १५६ जना पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिन खोज्ने १५६ जना पक्राउ परेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकरण भण्डारीले जानकारी दिनुभयो ।

यस्तै भाषा परीक्षाका लागि आवेदन दिएकामध्ये ८ हजार १ सय ४१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएकोमा ८४ हजार २ सय १५ जना मात्रै परीक्षामा उपस्थित भएका हुन् ।

हिजो शनिबार र आज आइतबार दशौं कोरियन भाषा परीक्षा भएको हो । भाषा परीक्षाको नतिजा असार १३ गते सार्वजनिक गरिने ईपीएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीको दोस्रो चरणमा सीप परीक्षण हुने छ । सीप परीक्षणमा उत्तीर्ण हुनेले मात्र कोरियाको रोजगारीका लागि आवेदन दिन पाउनेछन् ।

यस वर्ष कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी गरी जम्मा १० हजार ५ सय परीक्षार्थी भाषा परीक्षामा छनोट हुनेछन् । त्यसमध्येबाट सीप परीक्षणमा कति छनोट गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको  शाखाका प्रवक्ता भण्डारीले बताउनुभयो ।

आउँदो असार १३ गते नतिजा प्रकाशन गर्ने र त्यही बेला नै दोस्रो चरणको सीप परीक्षणको परीक्षा कहाँ र कसरी हुने भन्ने जानकारी दिइने उहाँको भनाई छ । भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् ।

रोजगारीका लागि एक सम्भावित व्यक्ति भए पनि कोरियाका रोजगारदाताको छनोटमा पर्नेले मात्र रोजगारीको अवसर प्राप्त गर्नेछन् । परीक्षामा पास हुँदैमा कोरियाको रोजगारी ग्यारेण्टी भयो भनेर ढुक्क नहुन प्रवक्ता भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस