प्रेस जगतलाई परेको चोटप्रति दुःख व्यक्त गर्दै मेयर चौधरीले आफ्नो व्यक्त विचार फिर्ता लिए।

इटहरी ।पत्रकारको नाकको डाँडी भाँच्ने धम्की दिएर विवादमा आएका इटहरीको मेयर द्वारिकालाल चौधरीले प्रेस जगतलाई परेको चोटप्रति दुःख व्यक्त गर्दै आफ्नो व्यक्त विचार फिर्ता लिएको घोषणा गरेका छन् ।

धम्की प्रकरणपछि तिव्र विवादमा आएपछि आइतबार विज्ञप्ति जारी गर्दै चौधरीले भनेका छन्, ‘प्रेस जगतलाई आघात पर्न गएको हद सम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु ।’

मेयर चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने सार्वजनिक चेतावनी दिएका थिए । उनले न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रममा समेत पत्रकारलाई लखेट्ने धम्की दिएका थिए । उनले विज्ञप्तिमा प्रेस जगतलाई आघात पार्ने आफ्नो कुनै लक्ष्य नभएको प्रष्ट पारेका छन् ।

उनले भनेका छन्,‘ तर गते इटहरीका एक जना पत्रकारले फेसवुक कम्मेन्टको विषयलाई लिएर मलाई आक्रोसपूर्ण फोन गरेपछि भएका संवादका क्रमहरुमा आवेगजन्य परिस्थितिका कारण मैले ब्यक्त भनाइहरुवाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोट प्रति दु:ख ब्यक्त गदै प्रेस जगतलाई आघात पर्न गएको हद सम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु ।’

मेयर चौधरीले आफू लामो राजनीतिक यात्रा पार गरेर आएको भन्दै आफू उदण्ड होइन अनुशासित नेता भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘ म लामो राजनीतिक यात्रा पार गरेर आएको ब्यक्ति हुँ । २४ बर्षको उमेरमै तत्कालिन हाँसपोसा गाविसको अध्यक्ष भएर दुईकार्यकाल परीक्षण भइसकेको जनप्रतिनिधि पनि हुँ । अहिले इटहरीउपमहानगरको नेतृत्व गर्ने जनअभिमत प्राप्त ब्यक्ति हुँ । म उद्धण्ड हुदै होइन,म अनुशासित ब्यक्ति हुँ ।’

‘प्रेस जगत पनि सुध्रियोस्’
मेयर चौधरीले सञ्चारजगत पनि जिम्मेवार हुनुपर्ने उल्लेख गरेका छन् । उनले प्रेस जगतले खेलेको भूमिका प्रति प्रशंसा गर्दै भनेका छन्,‘यो संवैधानिक हक प्रति सघै प्रतिवद्ध रहने छ । हामी दुवै पक्ष परिस्किृत र परिमार्जित वन्दै इटहरीको सम्वृद्धि र विकासमा अघि वढनु पर्छ भन्ने मेरो मान्यता हो । प्रेसजगतको भूमिका विना नेपालमा ठूला ठूला राजनीतिक परिवर्तनहरु संभव हुने थिएनन । यति गौरवशाली महत्व रहेको प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र सुदृढिकरण गर्न सके सञ्चार जगतको मर्यादामा अझै निखार आउनेकुरामा दुइमत नहोला ।’

चौधरीले इटहरी नगरपालिका भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताको अभियानमा रहेको जनाएका छन् । यो अभियानमा सञ्चारजगतको रचनात्मक भूमिका अपरिहार्य रहेको उल्लेख गरेका छन् । भनेका छन्, ‘यो अभियानमा समस्त सञ्चारकर्मी मित्रहरुलाई सहयोगका लागि हार्दिक आग्रह गर्दछु । पून दोहोरयाउन चाहन्छु इटहरीको विकासका लागि उपमहानगरले कुनै कसर वाँकी राख्ने छैन । परिर्वतन र सम्वृद्धिको यो यात्रामा सवै पक्षलाई सामेल भइदिन हुन अनुरोध गर्दछु।’

प्रतिक्रिया दिनुहोस