याफ्टिङ एजेन्सिज (नारा) को ३१ औँ वार्षिक जलयात्रा भब्यताका साथ सम्पन्न।

मलेखु (धादिङ)– त्रिशुली जलयात्रा (-याफ्टिङ) को महत्व बोकेको नदी हो। राजधानीसँग नजिक भएकाले पनि काठमाडौं र देशका विभिन्न भागबाट यहाँ जलयात्राका लागि आन्तरिक तथा वाह्य पर्यटक आइपुग्छन्। यसरी आएका पर्यटकलाई खान बस्नका लागि त्रिशुली किनारमा १५ भन्दा बढि रिसोर्टहरु संचालनमा छन्। ऐतिहासिक जलयात्राको नदीको रुपमा स्थापित त्रिशुली लगायतका नदीमा जलयात्रा गर्नेहरु दिनानुदिन बढिरहेका छन्। यसले पर्यटन व्यवसायमा समेत उत्तिकै मद्दत पु-याएको छ। नेपालमा पहिलो पटक व्यवसायिक रुपमा जलयात्राको शुरुवात भएको त्रिशूली नदीमा शनिबार पनि सामुहिक रुपमा जलयात्रा गरिएको छ। ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका नेपाल एसोसिएसन अफ -याफ्टिङ एजेन्सिज (नारा) ले ३१ औँ वार्षिक जलयात्रा उत्सवको आयोजना गरेको हो।

धादिङको आदामघाटबाट सुरु गरिएको जलयात्रा मलेखुसम्म आएर टुङिगएको थियो। करीब ४ सयको हाराहारीमा साढे तीन घण्टा त्रिशुली नदीमा जलयात्राको मज्जा लिएका हुन्। नेपालको आन्तरिक र बाह्य पर्यटनको विकास, विस्तार संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन वोर्डको सहयोगमा जलयात्राको आयोजना गरिएको नाराका महासचिव शिव अधिकारीले बताए। ‘सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आदामघाटदेखि मलेखुसम्मको १८ किलोमिटरमा जलयात्रा गरेका हौँ’, उनले भने, ‘नेपालको आन्तरिक र बाह्य पर्यटनको विकास, विस्तार संरक्षण र प्रवद्र्धन गर्न जलयात्राले महत्वपूर्ण सन्देश दिनेछ।’

नाराको ३१ औँ वार्षिक जलयात्रा उत्सव कार्यक्रम देशभरका तीन त्रिशुली नदी, भोटेकाशी र अपरसेतीमा आयोजना गरिएको छ। त्रिशुलीमा ४ सय, भोटेकोशीमा १५०० र अपरसेतीमा सय जनाले जलयात्रा गरेको महासचिव अधिकारीले जानकारी दिए। जलयात्रामा स्वदेशी तथा विदेशी पर्यटकहरु गरी दुई हजार सहभागी थिए।

जलयात्राको लागि साहसिक गन्तव्यको परिचय बनाएको त्रिशुली नदी विश्वका उत्कृष्ट नदीहरु मध्येको एक मानिन्छ। विदेशमा मात्र नभएर स्वदेशमा पनि यसको चर्चा उत्तिकै छ, त्यसैले धेरै संख्यामा नेपालीहरु पनि जलयात्राको मज्जा लिन त्रिशुली नदीमा पुग्छन्। त्रिशुली नदीमा अहिले व्यवसायिक रुपमा जलयात्रा संचालन भइरहेको छ।

नेपालमा रहेका करिब छ हजार नदीनालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ। त्रिशूली नदी नेपालको पहिलो साहसिक जलयात्रा शुरुवात भएको नदी हो।

नेपालमा सन १९६० बाट साहसिक जलयात्रा शुरू भएको थियो। सन १९६० मा न्यूजिल्याण्डका नागरिक सर एडमण्ड हिलारीले नेपालमा साहसिक जलयात्राको सुरुवात गरेका थिए। त्यसपछि सन १९७५ मा नेपाल सरकारले साहसिक जलयात्राका लागि भन्दै विभिन्न १० ओटा नदीलाई स्वीकृति प्रदान गरेको थियो। सन् १९७५ पूर्व विदेशीहरूले मात्र व्यक्तिगत मनोरञ्जनका लागि जलयात्राको उपयोग गर्ने गरेको थियो।

प्रतिक्रिया दिनुहोस