पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुँदै छ । तर, ब्रेक्जिट प्रकरणले यहाँ राजनीतिक अस्थिरता निम्त्याएका बेला प्रधानमन्त्री केपी ओलीको भ्रमण तय भएको हो ।
प्रधानमन्त्री ओली शनिबार युरोप भ्रमणमा निस्किँदै छन् । स्विट्जरल्यान्डमा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा सहभागी भई उनी सोमबार लन्डन आइपुग्नेछन् । यहाँ तीन दिन रहेर प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो गर्ने बेलायती प्रधानमन्त्री टेरिसा मे सरकारबाट बाहिरिने क्रममा छिन् ।
उनले प्रधानमन्त्री पदबाट औपचारिक राजीनामा दिइसकेकी छैनन् तर सत्तारुढ पार्टीको नेताबाट हटेकी छन् । नयाँ प्रधानमन्त्रीका लागि नेता चयन गर्न उनले बाटो खोलेकी छन् ।