दाङ तुलसीपुर, २३ जेठ
नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर ४ मजुवा ठुलाखालीमा जारी महायज्ञमा दैनिक दानदाताहरुको संख्या बढेको छ । महायज्ञमा आज मात्रै ३ लाख ३९ हजार ३ सय १४ रुपैयां संकलण भएको महायज्ञका आर्थिक संयोजक चेतराज सिङ ठकुरीले जानकारी दिनुभयो । महायज्ञबाट आज सम्म १३ लाख १ हजार ७ सय २३ दान संकलन भएको संयोजक ठकुरीले बताउनुभयो ।
शनिबारदेखि शुरु भएको महायज्ञमा आज सबैभन्दा बढि तुलसीपुर ७ गणेशपुर निवासी मकर कुमारी बस्नेतले १ लाख १ हजार १ सय ११ रुपैयां दान सहयोग गर्नुभएको छ । उहाँलाई बाजागाजा सहित तुलसीपुर बजार परिक्रमा गराई स्वागत गरीएको थियो । त्यसैगरी तुलसीपुर ४ मजुवा निवासी जसिराम खड्का र शुशिला खड्काले ३२ हजार १०, गुरु जजुर मा.वि. रक्षाचौर बाट ३० हजार २ सय, भृकुटी टोल विकास संस्था रक्षाचौर बाट २९ हजार ४ सय पचास रुपैयां दान प्राप्त भएको संयोजक ठकुरीले बताउनुभयो । त्यसैगरी महायज्ञमा अन्य दानदाताहरुले पनि सहयोग गरेका छन् ।
धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागी आर्थिक संकलणार्थ महायज्ञको आयोजना गरीएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले बताउनुभयो ।
महायज्ञ जेठ २६ गते आइतबारसम्म संचालन हुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमिल्सीना रहनुभएको छ । महायज्ञमा दैनिक विभिन्न धार्मिक कार्यहरु भइरहेका छन् ।