एजेन्सी ।
पछिल्लो समय विभिन्न विवादमा फसेको हुवावेलाई हराउन अर्को प्राविधिक कम्पनी नोकिया अहिले निकै जोड गरिरहेको छ । अमेरिकी बजारमा संवेदनशील हुवावेको अवस्थाको फाइदा उठाउँदै नोकियाले फाइभ-जी प्रविधिको प्रतिस्पर्धामा हुवावेलाई पछि पार्ने तयारी गरिरहेको हो ।
फिनल्यान्डको सञ्चार उपकरण निर्माणकर्ता नोकियाले मंगलबार मात्र फाइभ-जी प्रविधिका लागि आफूहरुले विश्वभर ४२ वटा व्यवसायिक सम्झौतामा हस्ताक्षर गरिसकेको बताएको हो । यसले नोकियालाई फाइभ-जी प्रविधिको प्रतिस्पर्धामा झन्डै हुवावे समानस्तरमा पुर्याउन सक्ने बताइएको छ । हुवावेले नयाँ पीँढीको वायरलेस फाइभ-जी प्रविधि निर्माणका लागि भारी लगानी गरिरहेको छ र लामो समय अघिदेखि नै नयाँ डिजिटल अर्थतन्त्र आफ्नो हातमा लिने अपेक्षा गर्दै आएको छ ।
चीनको सेनजेनस्थित हुवावे कम्पनी विश्वको सबैभन्दा ठूलो सञ्चार उपकरण निर्माणकर्तामा पर्दछ । तर यसको व्यवसायविरुद्ध अमेरिकाले जारी गरेको अभियानका कारण कम्पनीले लगातार क्षति व्यहोर्नु परिरहेको छ ।
अमेरिकाले आफू मात्र नभएर मित्रराष्ट्रहरुलाई समेत हुवावेका उत्पादनमाथि प्रतिबन्ध लगाउन दबाब दिइरहेको हुनाले पनि फाइभ-जी प्रविधिमा चिनियाँ कम्पनीले अनगिन्ती चुनौतिको सामना गर्नु परेको हो । राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण हुने अमेरिकी दाबीको समर्थनमा कतिपयप राष्ट्रहरुले हुवावेसँगको व्यापारिक सम्बन्ध रद्द गरिसकेका छन् ।
यसरी मंगलबार कम्पनी हुवावेले पनि फाइभ-जी प्रविधिको समर्थनमा आफूले ४२ सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएको हो । जसमध्ये २५ युरोपसँग, १० मध्यपूर्व अनि एसियामा पनि ६ वटा सम्झौता गरिएको बताएको छ । तर नोकियाले आफ्नो गतिमा झन सुधार ल्याइरहेको छ । कम्पनीका अनुसार गत मार्चदेखि नोकियाले हरेक हप्ता नयाँ सम्झौता गरिरहेको छ । हुवावेले चाहिँ मार्चसम्ममै ४० व्यवसायिक सम्झौता गरिसकेको थियो भने त्यतिबेला नोकिया ३० वटा नयाँ सम्झौता गरेको रिसर्च फर्म विश्लेषक चार्लि डाइले बताए । यसको अर्थ नोकियाले पछिल्लो दुई महिनामा १२ सम्झौता गरेको छ भने हुवावे केबल दुईवटामा मात्र सफल भएको हो ।
हुवावेको फाइभ-जी व्यवसायमा बढ्दै गएका समस्याका कारण पनि यसको गति सुस्त हुन पुगेको बताइएको छ । वासिङटनले केही समय अगाडि मात्र अमेरिकी कम्पनीहरुलाई हुवावेसँग प्रमुख प्राविधिक उपकरणहरुको कारोबार नगर्न आदेश दिएको थियो । जस अनुसार अब हुवावेले अमेरिकी कम्पनीहरुबाट कुनै सफ्टवेयर वा हार्डवेयर डिभाइसहरु खरिद गर्न पाउँदैन । यस्तोमा केही महत्वपूर्ण सप्लायरहरु हुवावेसँगको सबै सम्बन्ध रद्द गर्न बाध्य भइरहेका छन् । यसकारण पनि नयाँ सम्झौतामा कठिनाइ भइरहेको बताइएको छ ।
त्यस्तै जापान र बेलायतले पनि हुवावेका स्मार्टफोन लन्च तोकिएको समयभन्दा ढिलो गरिने बताएको छ । यता गत हप्ता मात्र जापानको सफ्टब्यांकले पनि फाइभ-जी प्रविधिका लागि नोकिया र एरिकको छनोट गरेको घोषणा गरेको हो । सफ्टब्यांकले यसअघि फोर-जी प्रविधिका लागि हुवावे नेटवर्क अपनाएको थियो जसकारण यो खबरबाट हुवावेलाई ठूलो झट्का लागेको हो ।
अहिले नोकिया र एरिक्सन हुवावेका सबैभन्दा कडा प्रतिस्पर्धीका रुपमा खडा भइरहेका छन् । हुवावेको विवादपूर्ण स्थितिले यिनलाई नै सबैभन्दा फाइदा पुग्नेछ । त्यसैले फोर-जी पछिको सबैभन्दा प्रतिक्षित प्रविधिको सुरुआत नोकियाका लागि प्राविधिक क्षेत्रमा पुनः चम्किने सबैभन्दा राम्रो समय भएको मंगलबारको बयानमा कार्यकारी प्रमुख राजिव सुरीले बताए । -सिएनएनबाट