पेट्रोलको मूल्य एक रुपैयाँ घट्यो,नयाँ मूल्य बुधवार राति १२ बजेदेखि लागू हुने।

काठमाडौँ — आयल निगमले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको जनाउँदै निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । ‘भारतीय आयल निगम(आईओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा १ रुपैयाँ घटेको छ,’ निगमका उपनिर्देशक विनितमणि उपाध्यायले भने,‘नयाँ मूल्य बुधवार राति १२ बजेदेखि लागू हुनेछ ।’

नयाँ मूल्य समायोजन पश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय १० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले डिजेल/मट्टितेल, हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

आयल निगम नोक्सानमा गएपछि २०७१ असोजमा स्वचालित प्रणाली लागू गरेको थियो । सोही अनुसार निगमले समायोजन गर्दै आएको दाबी छ । दुईसाता अघि बजेट भाषणको क्रममा अर्थमन्त्री युवराज खतिवडाले सडक बनाउने नाममा प्रतिलिटर पेट्रोल र डिजेलमा १/१ रुपैयाँ थप शुल्क लिने निर्णय गरेका थिए । तर, बजेट भाषण लगत्तै निगमले रातारात मूल्य समायोजन गरेर पेट्रोलमा र डिजेल/मट्टितेलमा डेढ/डेढ रुपैयाँ वृद्धि गरेको थियो ।

आईओसीले १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोही अनुसार निगमले समायोजन गर्नुपर्छ । तर, निगमले बजेट भाषण लगतै आईओसीबाट नयाँ मूल्य सूची नआउँदै ‘मे २९’ मै मूल्य बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस