काठमाडौँ – आफूलाई ज्योतिष भनेर चिनाएका ३६ वर्षीय अर्जुन क्षेत्री प्रहरीको फन्दामा परेका छन् ।सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा.लि. कार्यालय सञ्चालन गर्दै आएका क्षत्रीले विभिन्न यूट्यूव च्यानलमा अन्तर्वार्ता दिँदै जेठ १७ गतेदेखि २८ गतेसम्म खतरा भनेर आतंक फैलाएपछि प्रहरीले पक्राउ गरेको हो । उनले जेठमा भूकम्प नगएपनि जेठदेखि असोजसम्म ७ रेक्टरको भूकम्प आउने ठोकुवा गरेका थिए ।विभिन्न समयमा धेरै विवादित भविष्यवाणी गरेर विवादमा फस्ने गरेका क्षेत्री आफूलाई फेस रिडर र ज्योतिष भन्ने गरेका छन्। तर वास्तविकतामा भने उनी फेस रिडर र ज्योतिष दुवै नभएको खुल्न आएको छ।
यस्तो छ उनको वास्तविकता
मिडियामा आफूलाई ज्योतिष बताएर भाइरल हुँदै आएका क्षेत्रीका आफन्त र नजिकका चिन्ने-जान्नेहरुको उनी बारे फरक धारणा छ। उनले विभिन्न अन्तर्वार्तामा आफू २७ वर्षको भन्ने गरेको भएता पनि उनको जन्मवर्ष भने २०५६ रहेको छ।उनको वास्तविक नाम अर्जुन थापा हो भने उनको स्थायी घर भोजपुर हो। उनका आफन्तहरुका अनुसार अर्जुनका पीता सेनामा थिए, जसको जागिरकै क्रममा निधन भएको थियो।पिताको निधन पछि आमाले चिया दोकान गरेर उनलाई हुर्काउने र पढाउने काम गरेकी थिइन्। मावलीमा बसेर पढेका उनले २०७२ सालमा रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित श्री माध्यमिक विद्यालय भङ्गेरीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए ।उनले रामेछापकै एक स्थानीय रेडियोमा समेत काम गरेका थिए। त्यति मात्र नभई उनले सिन्धुलीको एक बोर्डिङ स्कुलमा पढाउने काम गरेको पनि खुल्न आएको छ। पढाउने क्रममा विवाद भएपछि काठमाडौँ छिरेको उनका आफन्तहरु बताउँछन्।