टाटासुमाे दुर्घटना, दुई महिलाकाे घटनास्थलमै मृत्यु, छ घाइतेमध्ये चारकाे अवस्था गम्भीर

नुवाकाेट, जेठ २० ।
त्रिशुली–रसुवागढी सडकमार्गमा टाटासुमो दुर्घटना भएको छ । दुर्घटनामा दुई महिलाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना हराइरहेका छन् ।

छ जना घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी देवर्सि सापकोटाले जानकारी दिएका छन् । वीरगञ्ज–गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडकमार्गअन्तर्गत रसुवाको गुम्चेतमा आज बेलुका बा. १० च ५८२० नम्बरको टाटासुमो दुर्घटना भएको सापकोटाले बताए । उनकाअनुसार साँझ ६ बजे पोखराबाट नुवाकोटको बिदुर हुँदै रसुवाको गोल्जुङ जाँदै गरेको जीप गुम्चेतमा सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूको नाम खुलेको छैन । तीन जना हराइरहेका छन् । मृतक, घाइते तथा हराइरहेकाको पहिचानसमेत खुलेको छैन।

घाइते छ जनाको स्थानीयबासी, जलविद्युत आयोजनामा कार्यरत कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्दार गरी उपचारका लागि नुवाकोट जिल्ला अस्पताल पठाएको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए।

उनकाअनुसार सडकमार्गबाट तल भीरमा खसेर जीप त्रिशुली नदीमा पुगेको छ। शव संकलन जारी रहेको स्थानीयबासी सुमन भट्टले जानकारी दिए।

गत वर्षदेखि सञ्चालित कच्ची सडकमा पहिलो पटक दुर्घटना भएको हो। गाडी रिजर्भ गरेर पोखरा पुगेर फर्कँदै गरेकाहरू दुर्घटनामा परेका हुन्।

प्रतिक्रिया दिनुहोस