२० भन्दा बढी ड्राइभिङ सेन्टर अवैध सञ्चालन, निःशुल्क सेवा दिनेलाई बेवास्ता

झापा।

झापामा २० भन्दा बढी मोटर ड्राइभिङ सेन्टर मापदण्डविपरीत सञ्चालन भइरहेका छन् । दमकदेखि काँकडभिट्टासम्म विभिन्न स्थानमा सञ्चालन भइरहेका ड्राइभिङ सेन्टरले यातायात व्यवस्था विभागको कुनैपनि मापदण्ड पूरा गरेका छैनन् तर निर्वाध रूपमा सञ्चालन भइरहेका छन् । उनीहरूले प्रशिक्षणका लागि आउनेसँग आफूखुसी रकम सञ्चालकले लिइरहेका छन् ।

चारआलीमा सञ्चालित ड्राइभिङ सेन्टरको न त नाम नै छ, न त अन्य कुनै मापदण्ड नै यसले पूरा गरेको छ । धुलो हिलो र बाँसका भाटा गाडेर ट्रायल सिकाइरहेको छ । यो ड्राइभिङ सेन्टर मात्र होइन, पूर्व–पश्चिम राजमार्गको धुलाबारीनजिकै रहेको गड्तौला मोटर ड्राइभिङ सेन्टरलगायत यातायात व्यवस्था कार्यालयनजिकै रहेका कुनैपनि ट्रायल सेन्टरले कुनैपनि मापदण्ड पूरा गरेका छैनन् ।

यहाँ मात्र होइन झापामा हाल सञ्चालनमा आइरहेका २१ ड्राइभिङ सेन्टर सबैजसो मापदण्डविपरीत भएको यातायात व्यवस्था कार्यालय बिर्तामोडका मेकानिकल इन्जिनियर विजय अधिकारी बताउँछन् । तर, कसैलाई पनि कारबाही भएको छैन ।

यातायात व्यवस्था कार्यालय बिर्तामोडको तथ्यांकनुसार झापाका २१ वटा मोटर ड्राइभिङ सेन्टरले कार्यालयबाट सञ्चालनका निम्ति इजाजतपत्र लिएर तीन वर्षअघि देखि सञ्चालन भइरहेका थिए । तर, यो आर्थिक वर्षमा नौ वटाले अनुमतिपत्र नवीकरण नगरेपछि हाल झापामा १२ वटा मोटर ड्राइभिङ केन्द्र सञ्चालनमा रहेका छन् । तर, तीमध्ये सबैजसो मापदण्डविपरीत र आफूखुसी सञ्चालन भइरहेका पाइएको हो ।

यातायात व्यवस्था कार्यालयको ५ सय मिटरभित्र कुनैपनि ड्राइभिङ सेन्टर सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ । तर, मेचीमा कार्यालयनजिकै चारवटा ड्राइभिङ सेन्टर निर्वाध रूपमा चलिरहेका छन् ।

ड्राइभिङ केन्द्रमा भेटिएका सिकारु चालकले भने आफूहरूलाई मापदण्डविपरीत सञ्चालन भएको थाहा नै नभएको तथा सस्तो पनि भएको बताए ।

सवारी चालक अनुमतिपत्र लाइसेन्स प्राप्त गर्न अन्तिमपटक सरकारले लिने टायल सेन्टरसमेत मापदण्डविपरीत नै रहेको वताइएको छ । यातायात सञ्चालन नियमावलीनुसार ट्रायल लिने स्थान निश्चित मापदण्डभित्र रहेको हुनुपर्छ । तर, यातायात व्यवस्था कार्यालय मेचीले हाल लिँदै आएको ट्रायल सेन्टरसमेत पानी नपरेको बखत धुलो उड्ने र बर्खामा हिलाम्मे हुने गरेको छ । यहाँको भौतिक संरचनासमेत जीर्ण र मापदण्डविपरीत छ ।

यातायात व्यवस्था कार्यालय बिर्तामोडमा कार्यरत अर्का मेकानिकल इन्जिनियर गोपीचन्द्र बोहोराले मर्मत सम्भारका लागि आर्थिक वर्ष २०७५/७६ मा छुट्याएको १० लाख रुपैयाँले ट्रायल सेन्टर मर्मत गरिने जानकारी दिए । उनले बजेट फ्रिज हुन नदिने बताउँदै यथासक्य चाँडै मर्मत र निर्माण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस