केपी खनालले भारतमा भाँडा माझ्दा नदेखेको भविष्य।

केपी घरको जेठो छोरा हुन्। उनी २ वर्षको हुँदा उनको परिवार अछामबाट कैलाली झरेको थियो। उनीमुनि १ भाई र १ बहिनी छन्। उनका बुबाले भारतमा चौकिदारी गर्न थालेको धेरै वर्ष भइसक्यो। विगत केही वर्षदेखि आमा पनि उतै मजदुरी गर्छिन्।

जेठो छोरा भएको नाताले सानैदेखि घरको सम्पूर्ण जिम्मेवारी केपीको काँधमा आयो। त्यसैले, पनि उनलाई समयले दुःखमा हिँड्न र लडेपछि उठ्न सिकायो। सुखका दिनहरु उनले सायदै देखे होलान्।

पश्चिमका धेरै युवाको सपना हुन्छ, एकपटक भारत जाने– रहरले होस् या बाध्यताले। केपी भने रहर र बाध्यता दुबैले भारत पुगे। भारत पुगेर उनी मोटाउन चाहन्थे, गोरो हुन चाहन्थे। यो उनको रहर थियो। बाध्यता थियो– गरिबी। परिवारका लागि र भविष्यमा आफ्नो पढाईका लागि केही पैसा जम्मा गर्ने उनको सपना पनि।

तर, सोचेजस्तो सजिलो कहाँ थियो र? उनी भारत गएको १ महिनासम्म भौतारिए। बल्लतल्ल बुबाले चिनेको एक होटलमा भाँडा माझ्ने काम पाए। मुम्बईको मीरा रोडको अभिषेक रेस्टुरेन्टमा बिहान ६ बजेदेखि राति १२ बजेसम्म उनका कलिला हातले भाँडा धस्काउन थाले।

काम सकिएपछि फेसबुक खोल्थे। जहाँ देखिन्थे साथीहरु विभिन्न ठाउँमा घुमेका फोटा। त्यो देखेर उनलाई विरक्त लाग्थ्यो। ‘म पहिला रेडियोमा बोल्थेँ, समाजसेवा गर्थेँ, अहिले विदेशी भूमिमा अरुले खाएका जुठा भाँडा माझ्दै छु’, यस्तो सोच्दै उनी मन खिन्न बनाउँथे।

भाँडा माझेर उनले आफ्नो भविष्य देखेनन्, नेपाल फर्किए।

सरसफाईलाई निरन्तरता
४ महिनाको भारत बसाईपछि नेपाल फर्किएर केपी कैलालीको श्री राष्ट्रिय उच्च माविमा ‘प्लस टू’ मा भर्ना भए। फेरि उनले सरसफाई कार्यलाई निरन्तरता दिन थाले। त्यसैबेला स्थानीय तहको निर्वाचन भयो। उनले विभिन्न नगरपालिकाका निर्वाचित मेयरलाई गाउँ–गाउँ डुलाएर सरसफाई अभियान सञ्चालन गरे।

तर, उनको कामको तारिफ कसैले गरेन। ‘राम्रो काम गर्दैछस्’ भन्नेहरुले पनि साथ दिएनन्। उल्टै कानेखुसी र विरोधका स्वरहरु सुनिन थाले। केपी पनि के कम थिए र? अरुको टिप्पणीको पछि नलगाी नेपालगञ्जदेखि कैलालीसम्मका विभिन्न बजारका फोहोर बढारिरहे।

‘राम्रो काम गर्दा सबैले खुट्टा तान्दा रहेछन्’ केपी भन्छन्, ‘तर, ममा जबसम्म म बसेको घर, मेरो गाउँ र अलि परको सहर सफा हुँदैन भने देश सफा हुँदैन भन्ने भावना पलाइसकेको थियो। त्यसैले मलाई अघि डोहोर्याइरह्यो।’

यदि केपी समाजका राम्रा–नराम्रा प्रतिक्रिया सुनेर बसेको भए उनी प्रतिक्रियातिरै लाग्थे होलान्। तर, उनले प्रतिक्रिया भन्दा पनि आफ्नो कामलाई प्राथमिकतामा राखे। ‘यो फुच्चेले के गर्छ र?’ भन्नेहरुका लागि केही गरेरै देखाउने संकल्प कसे र गाउँ–घरको सरसफाईमा जुटिरहे।

साथै, उनले दशैँको बेला गाउँमा गरिबहरु– जो मीठो खाने त परै जाओस्, दुई छाक खानसमेत पाउँदैनन्– उनीहरुका लागि राहत अभियान चलाए। सामाजिक सञ्जालको प्रयोग गरेर २ लाख ५० हजार बराबरको खाद्यान्न वितरण गर्न सफल भए।

त्यस्तै, तिहारमा ‘भोकै छ हुम्ला’ अभियानमार्फत् फेसबुकबाटै उठेको ३ लाख बराबरको राहत बोकेर ७ दिन हिँडेरै हुम्लाको ओदानचुली गाउँपालिकामा राहत वितरण गरे।

काठमाडौँको यात्रा
‘प्लस टू’ उतीर्ण गरेपछि केपी नेपाल कमर्श क्याम्पसमा बिबिएस पढ्नका लागि काठमाडौँ आए। उनी नयाँ बानेश्वरमा साथीसँग बस्थे। क्याम्पस आउने–जाने चलिरहेको थियो। त्यसैक्रममा उनका आँखा सडक–पेटीका फोहरमा पर्थे। यो सबै देखेर उनी सोच्थे, ‘हामीलाई काठमाडौँले बस्न त दियो। तर, हामीले काठमाडौँलाई बस्न दिन सकेनौँ।’

एउटा युवा–विद्यार्थी बाटोमा हिँड्दा चकलेट खान्छ र त्यसको खोल त्यहीँ फालिदिन्छ। अर्को आउँछ, पराग खाएर खोल फालेर हिँड्छ। त्यसपछि थपिन्छन्, घरको फोहर ल्याएर मिसाउनेहरु। यसरी ठाउँ–ठाउँमा फोहोरको थुप्रो बन्छ। भोलिपल्ट फोहोर गर्नेहरु नै फोटो खिचेर सामाजिक सञ्जालमा स्टाटस राख्छन्, ‘हेर्नुस् फलानो ठाउँको फोहोर, यस्तो छ हाम्रो देशको अवस्था।’

‘बाटोमा हिँड्दा आफ्नो गोजीलाई डस्टबिन बनाउने र घरमा पुगेपछि घरको डस्टबिनमा फोहर फाल्ने हो भने काठमाडौँ सफा हुन बेर लाग्दैन’ केपी भन्छन्।

यसरी उनले मानिसको मनको फोहोर देखेर ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नारासहित काठमाडौँ आएको १ महिनामा माइतिघरमा १ हजार ७ सय मानिस उतार्ने प्रतिज्ञा कसे।

यसको उद्देश्य थियो, मान्छेको मन सफा गर्ने।

 

पृथ्वीजयन्तीको दिन (पौष २७ गते) केपीको अभियानले सफलता पायो। तत्कालिन स्थानीय प्रशासनमन्त्री लालबाबु पण्डितसहित विद्यार्थी र विभिन्न संघ–संस्था गरी हजारौँ मानिस सडकमा उत्रिए। अनि सुटुक्क केपीलाई आफ्नो मनमा बसाए।

‘क्लिन काष्ठमण्डप’ अभियान
आफ्नो पहिलो सफलताबाट हौसिएका केपीले लगत्तै ‘क्लिन काष्ठमण्डप’ अभियान चलाए। २०७४ पुष अन्तिम सातादेखि अभियान सुरु भयो। अभियानमा वातावरणमन्त्री मिथिला चौधरीले समेत साथ दिइन्।

अभियानका क्रममा केपीले काठामाडौँ फोहोर हुनुको कारण पत्ता लगाए। ‘गुट्खाको खोल र चुरोटको ठुुटाले गर्दा काठमाडौँ फोहोर देखिएको हो’ उनी भन्छन्, ‘काठमाडौँका प्रत्येक गल्लीमा यी दुई चीज नभएको ठाउँ नै छैनन्। त्यसपछि भेटिने भनेको कागजका टुक्रा, पानीका बोतल, चुरोटका खोल र पोस्टरहरु हुन्।’

मानिसले फाल्ने फोहोरको पछाडि भने केपी महानगरको गल्ती देख्छन्। उनको भनाईमा, महानगरले घरअगाडि फोहोर राख्न भन्ने, तर कैयौँ दिन उठाउन नआउने भएका कारण मानिसमा लुकिछिपी खोलामा फोहोर मिसाउने वा घर नजिकै कतै थुपारिदिने प्रबृत्ति बढेको हो।

युवालाई फोहोर नफाल्न जनचेतना फैलाउने उद्धेश्यले सुरु भएको अभियानले अहिले राष्ट्रब्यापी रुप लिएको छ। अभियानले मध्यरातमा काठमाडौँका विभिन्न स्थान हुँदै देशका मुख्य सहरमा सरसफाई गरिसकेको छ। केपी अभियानकै क्रममा कञ्चनपुरदेखि झापासम्म पुगेका छन्। स्थानीय युवामा जागरुपता बढाउने उद्देश्यले आफू नै सहभागी भएर अभियान सञ्चालन गरिएको उनले बताए।

‘क्लिन काष्ठमण्डप’ अभियानको उद्देश्य ‘म बदलिएँ भने देश बदलिन्छ’ भन्ने भावनाको विकास गराउनु हो। केपीका अनुसार, प्रत्येक नेपालीलाई अभियानमा सामेल गराउने यसको उद्देश्य हो। अभियानमा विभिन्न क्याम्पस, संघ–संस्था, सरकारी निकाय, प्रहरीसँग सहकार्य हुन्छ।

सानैमा घरको जिम्मेवारी बहन गरेका केपीलाई त्यही जिम्मेवारीले आज देशको जिम्मेवारी बहन गर्न सिकायो। त्यतिमात्र कहाँ हो र? सरसफाई अभियानमा लागेपछि उनलाई ‘ट्याक्सस कलेज’ ले पूर्ण छात्रबृत्ति दिने भयो। त्यसपछि उनी त्यहीँ बिएसडब्लू पढ्न थाले। उनलाई ग्रीनसिटी अस्पतालले निशुल्क खाने–बस्ने व्यवस्था गरिदिएको छ। केपीको अभियानमा यसरी साथ दिनेहरु थुप्रै छन्। त्यसैले त उनले हिम्मत हारेका छैनन्।

युवामा जागरुपता
‘क्लिन काष्ठमण्डप’ अभियान सुरु भएपछि युवाहरु सरसफाई अभियानमा जागरुकताका साथ लागिपरेका छन्। केही समयअघि केपीले फेसबुक लाईभमार्फत् सरसफाई अभियान चलाएपछि देशका विभिन्न स्थानका युवाहरुले त्यसलाई फलो गरेका थिए। केपीसहितका केही युवाले अस्पतालका ट्वाइलेट, सडक बाटोमा फ्याँकिएका, खोलामा मिसाइएका, सार्वजनिक स्थानमा फालिएका फोहोर उठाउने काम गर्दै आइरहेका छन्।

‘हामीले आफ्नो तर्फबाट गरिरहेका त छौँ। तर, यो सरसफाईको दीर्घकालिन आधार भने होइन’ केपी भन्छन्, ‘यसका लागि सरकार नै लाग्नुपर्ने हुन्छ।’

आफू र आफूजस्ता युवाहरु निस्वार्थ भावनाले सरसफाईमा लागिपरेको तर, राज्यले यसतर्फ खासै ध्यान नदिएको उनको गुनासो छ।

हिजो युवाहरु झाडु बोकेर सडकमा आउन लजाउँथे। तर, आज उनीहरु निर्धक्क हातमा झाडु समाउँछन्। यसरी युवालाई सडकसम्म आउन प्रेरित गर्न सक्नुलाई नै केपी आफ्नो ठूलो उपलब्धि ठान्छन्।

काष्ठमण्डप सरसफाई अभियानको उद्देश्य पनि देशभरको फोहोर सफाई गर्नु होइन। बरु देशभरका युवाहरुको मन सफा गर्नु हो। ‘मन सफा भए फोहर नै हुँदैन नि’ केपी मुस्कुराउँछन्।

विशुद्ध सामाजिक भावना
केपी पैसा कमाउनका लागि नभएर विशुद्ध सामाजिक भावना बोकेर अभियानमा लागेका हुन्। ‘यदि म संस्था बन्ने हो भने, यदि म एनजिओ–आइएनजिओमा रुपान्तरण हुने हो भने वा म पैसाको पछाडि लाग्ने हो भने मेरो काम नै पैसा कति उठ्छ, मेरो संस्थामा कति सदस्य बनाउने, आज मैले कोसँग पैसा माग्ने भन्ने हुन्छ’ केपी भन्छन्, ‘सरसफाईलाई पैसा माग्ने भाँडो बनाउनु हुँदैन र हामी बनाउँदैनौँ पनि।’

कसैले आर्थिक सहयोग गर्छु भनेर आउँछ भने पनि उनीहरु लिँदैनन्। बरु सरसफाईका लागि चाहिने मास्क, ग्लोब्स र टस्डिन दिन आग्रह गर्छन्।

उनलाई पनि सरसफाई अभियानमा मन्त्रीदेखि नाम चलेका हस्तीले साथ दिन्छन्। केपी भनेपछि ‘नाई वा भ्याउँदिन भन्ने कोही छैनन्।’ यो नै उनको उपलब्धि हो।

परिवार खुसी
सुरुवाती दिनहरुमा केपीको परिवारले उनको कामप्रति असन्तुष्टि जनाउँथ्यो। छोरो फोहोर सफा गर्दै हिँडेर आफ्नो भविष्य बिगार्छ भन्ने चिन्ता लिन्थ्यो। तर, अहिले अवस्था ठ्याक्कै उल्टो छ। परिवारका सदस्य केपीको देश सफाई अभियानबाट निकै खुसी छन्। आमा–बुबा आफ्नो छोराप्रति गर्व गर्छन्।

अहिले उनी आफूलाई लाखौँ परिवारको छोरा भन्न रुचाउँछन्। किनभने उनको कामबाट लाखौँ आमाहरु खुसी छन्। उनलाई उत्साह दिइरहेका छन्।

‘मलाई सबैको मनमा बस्नु छ’ केपीको धेरै आकांक्षा छैन, ‘बस्, माटोका लागि केही गर्न सकूँ।’

छैन सपना
केपी सानो छँदा थुप्रै सपना बोक्थे। तर, अहिले उनी कुनै पनि सपना बोक्दैनन्। किनकी उनलाई थाहा छ, जिन्दगीमा मानिसहरु सपना बोक्छन् र त्यो सपना साकार भएन भने डिप्रेशनसम्म पुग्न सक्छन् हुन्छ।

केपीले भविष्यमा इन्जिनियर बन्ने सपना बुनेका थिए। तर, परिवारको आर्थिक अवस्थाले त्यो सफल भएन। उनको मन चसक्क भयो। यही कुराबाट पाठ किनेर उनी आफू खुसी र सन्तुष्ट हुने काम गर्छन्, सपनाबिना नै।

‘आजको दिनमा राम्रो गरेँ भने भोलि पनि राम्रो गर्न सक्छु भन्ने मनसायले काम गर्छु’ केपी भन्छन्। उनी सपना आफूले देख्नुभन्दा पनि समयले देखाउने कुरामा विश्वास गर्छन्।

अनाथ आश्रम
काठमाडौं होस् या देशका अन्य मुख्य–मुख्य सहरका गल्लीहरुमा– बाटोमा भिख मागिरहेका बालबालिका देखिन्छन्। बाटो हिँड्नेहरु उनीहरुको फोटो खिचेर सामाजिक सञ्जालमा हाल्छन् र भन्छन्, ‘राज्य कहाँ सुतिरहेको छ?’

अर्कोतर्फ युवाहरु सडकमा टायर बालेर सरकारप्रति आक्रोस् पोख्छन्, ‘सरकारले हाम्रो लागि केही गरेन।’

केपीको प्रश्न छ, ‘उनीहरुले चाहिँ देशका लागि के गरे?’

त्यसैले, उनले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको विरोध गर्ने शैली अर्को के नै हुन सक्छ र?

‘हिजो माइतिघरमा सरकार विरोधी नारा लगाउनेहरु आज मन्त्री भएका छन् तर देशका लागि केही गर्न सकेका छैनन्’ केपी भन्छन्, ‘आजका युवा पनि त्यही बाटोमा हिँड्छन् भने उसले परिवर्तन चाहेको छैन, केवल पुरानो संस्कारलाई पछ्याएको मात्र छ।’

यही मनसायका बीच केपीले ‘सके हजार नसके प्रचार’ को नारासहित बाजुराको स्थानीय संस्थाको स्वामित्वमा रहने गरी बालआश्रम बनाउन फेसबुकमार्फत पैसा संकलन सुरु गरे। ५० जना बालबालिका अट्ने क्षमताको उक्त आश्रममा खाने र बस्ने व्यवस्था पनि हुने भयो।

यसरी १८ वर्षे ठिटोको अभियानलाई सामाजिक सञ्जालमार्फत धेरैले साथ दिए। छोटो समयमा नै उनले ५० लाख रुपैयाँ उठाउन सफल भए। अभियान सुरु गरेको एक वर्षमै बालआश्रम तयार भयो। त्यो बालआश्रमको उद्घाटन तथा हस्तान्तरण महानायक राजेश हमालले गरे।

हिजो र आज
हिजो भारतमा भाँडा माझ्दा उनले १५ हजार भारु कमाउँथे भने अहिले लाखौँ जनताको माया पाइरहेका छन्। सामाजिक सञ्जालमा हजारौँ फलोअर्स कमाएका छन्। उनलाई विदेशीले खाएको भाँडा माझेर कमाएको १५ हजारभन्दा शुभचिन्तकको माया नै प्रिय छ।
भाँडा माझ्दा केपीका हातका काँपमा सेता डोब बस्थे। शरीर गलेर थिलोथिलो हुन्थ्यो। तर, अहिले उनको विचार गलेको छैन। जसरी भाँडा मझाइयो, त्यसरी विचार गलाउन भने खोजिएकै छ। तर, पनि उनी थाको छैनन्।

 

अहिले केपी आफ्नो देशको सफाई गर्दैछन् भने उनीसँगै भारत पुगेका साथीहरु विदेशीले खाएका भाँडाको सफाई। उनका साथीले केपीलाई भन्लान्, ‘हामीले भाँडा माझेर यति कमाएका छौँ, खोई तैँले के कमाइस्?’

त्यतिबेला यसको जवाफ केपीका मेडल र सम्मानपत्रले दिन्छन्। उनी भारतको सबैभन्दा ठूलो ‘सोसल कार्निभल’ मा ‘भ्वाईस अफ युथ अवार्ड’ बाट सम्मानित भए। सरसफाईको क्षेत्रमा योगदान पुर्याएवापछ ‘नेशनल युथ लिड अवार्ड’ समेत हात पार्न सफल भए। पूर्वप्रधानमन्त्रीदेखि विभिन्न मन्त्री र संघ–संस्थाबाट प्राप्त गरेका दर्जनौँ सम्मानपत्र उनीसँग छन्।

केपी प्रश्न गर्छन्, ‘मेरा लागि योभन्दा ठूलो कमाई अरु के नै हुन सक्छ र?’

प्रतिक्रिया दिनुहोस